नेकपाको विभाजन : कपिलवस्तुमा छुट्टाछुट्टै भेला, आ–आफ्नै दावी

राजेन्द्र खनाल
कपिलवस्तु
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा भित्रको आन्तरिक द्धोन्द्धले अहिले नेपाली राजनितिक मोड नै बदलेको छ । गत निर्वाचनका बेला एक भएका पूर्व एमाले र पुर्व एकिकृत माओवादीका नेताहरु पुष ५ गते यता भने छिन्नभिन्न भएका छन् । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको संसद विघठनको सिफारिश राष्ट्रपतिले स्विकृत गरे सँगै नेकपा भित्रको एकता पनि टुक्रिएको छ ।
नेकपाका शिर्ष तहका नेताहरु देखिने दुई तर गौणरुपमा धेरै कित्तामा विभाजित भएका छन भने तत्कालिन नेकपा एमाले र एकिकृत माओवादी पनि बन्न नसक्ने स्थितिमा पुगेको देखिएको छ ।
पार्टी भित्रको केन्द्रको आन्तरिक द्धोन्द अहिले प्रदेश हुँदै जिल्ला तथा वडा तहसम्म पुगेको छ । केपि ओली पक्षले वडा वडामा रहेका आफु निकटका नेता कार्यक्रताहरुलाई पनि अहिले केन्द्रीय समितिमा समावेश गरेको छ । लामो समय देखि केपी ओलीलाई समर्थन जनाएका तर कहिले पनि केन्द्रीय कमिटिको सपना नदेखेका कार्यक्रताहरु पनि अहिले नेकपा ओली पक्षको केन्द्रीय कमिटिमा परेका छन् ।
उता ओली पक्षबाट लामो समय देखि असन्तुष्ट बनेको प्रचण्ड–माधव पक्षले ओलीलाई कार्वाही गर्दै माधव नेपाललाई अध्यक्ष र प्रचण्डलाई संसदिय दलको नेताको रुपमा चयन गरेको छ । आफुसँग ओली पक्ष सँग भन्दा बढी सासंदको समर्थन भएको भन्दै सो समुहले पार्टीको नाम र चुनाव चिह्न तथा सम्पुर्ण अधिकार आफुहरुको हुने दावी निर्वाचन आयोग समक्ष पनि पेश गरेको छ ।
केन्द्रमा एक दर्जन नेताहरुका बिचमा नेकपाको लडाई देखिए पनि त्यसको प्रत्यक्ष असर अहिले जिल्ला तह र वडा हुँदै सामान्य टोल सम्म पनि प्रष्ट रुपमा देखिन थालेको छ । जिल्ला तहका नेता ताथ कार्यक्रताहरुले समेत अहिले आ–आफ्नै दावी गर्न सुरु गरेका छन् । यता कपिलवस्तु जिल्लामा ओली पक्षका नेताहरुले जिल्लामा आफुहरुको बहुमत रहेको दावी गरेको छ भने प्रचण्ड–माधव समुहले पनि आफुहरुको बहुमत रहेको दावी गरेको छ ।

ओली पक्षमा उभिएकी नेकपा कपिलवस्तुकी जिल्ला सह ईन्चार्ज तथा राष्ट्रीय सभा सदस्य विमला घिमिरेले केही दिन अघि जिल्लाका संचारकर्मीसँग आफुहरुको बहुमत रहेको भन्दै दावी गरेकी थिइन भने उनको भनाईलाई कटाक्ष गर्दै प्रदेश सभा सदस्य विष्णु पन्थीले प्रचण्ड –माधव पक्षको बहुमत प्रष्ट रहेको दावी गरेका थिए । ओली समुहले कपिलवस्तुबाट नयाँ पुराना गरी आफ्नो केन्द्रीय कमिटिमा १३ जनालाई समावेश गरेको छ भने अर्काे पक्षले त्यो भन्दा बढी नेताहरु आफुहरु सँग रहेको बताएको छ ।
उता अर्घाखाँचीमा पनि ओली पक्ष र प्रचण्ड –माधव पक्षको आ–आफ्नै दावी देखिएको छ भने दाङ, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम, गुल्मी लगाएतका जिल्लामा पनि नेकपाका नेता कार्यंक्रताहरु अहिले दुई कित्तामा प्रष्टसँग उभिएका छन् । यसरी हेर्दा नेकपा पूर्ण रुपमा एकता नहुँदै औपचारीक टुक्रिएको छ ।
जनवर्गिय संगठनमा तानातान
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माउँ पार्टीको झगडा उत्कर्षमा पुगे सँगै त्यस भित्रका जनवर्गिय संगठन तथा भातृ संस्थाहरुभित्र कार्यक्रता तानातानको स्थिति पैदा भएको छ ।
नेकपा निकट मानिने प्रेस संगठन नेपाल कपिलवस्तुमा प्रचण्ड–नेपाल पक्षको गत बुधबार छलफलमै बस्यो । सो छलफलले जिल्लाका पत्रकारको संख्या आफुहरुको पक्षमा बहुत संख्यामा उभिएको निश्कर्ष निकालेको छ । सो छलफलमा लुम्बिनी प्रदेशसभा सदस्य विष्णु पन्थी, नेकपा जिल्ला कमिटी सचिव रामचन्द्र शाह, नेकपा जिल्ला सचिवालय सदस्य विष्णु बेल्वासे लगाएतका प्रचण्ड–माधव नेपाल समर्थक नेताहरुको उपस्थिति थियो ।
संगठनका केन्द्रिय सदस्य मनिष कार्की, जिल्ला संयोजक डिलाराम भुसाल, सह–संयोजक हरि अधिकारी लगायत अहिले प्रचण्ड–नेपाल समूहमा खुलेर लागेका छन् ।
उता ओली पक्षका केही पत्रकारहरुका अनुसार भने कपिलवस्तुमा अझै दुई धारमा उभिने स्थिति नआएको बताएका छन् । उनीहरुका अनुसार कुनैपनि पक्षले दावी गरेको भए पनि त्यसको गतिलो आधार अझै नबनेको हो । ओली पक्षकै एक पत्रकारका अनुसार भने कपिलवस्तुमा प्रचण्ड माधवकै बाहुल्यता बढी रहेको बताएका छन् ।
त्यस्तै जिल्लामा प्रेस संगठन जस्तै अन्य पेशागत संगठन भित्र पनि त्यसको असर देखा पर्न थालेको छ । नेकपा निकट युवा संघ कपिलवस्तु पनि दुई कित्तमा उभिएको छ । केही दिन अघि संसद विघठनको विषयलाई लिएर प्रचण्ड माधव समुहले कपिलवस्तुका ठाउठाउँमा प्रर्दशन ग¥यो । उनीहरुले नाराबाजी समेत गरे । राष्ट्रिय युवा संघका जिल्ला संयोजक विजय कुँवरले भने आफुहरुको त्यो प्रर्दशन कुनै पक्ष वा विपक्षको नभई संसद विघठन गलत विषय भएको भन्नका लागि मात्रै गरिएको बताएका छन् । उनले अहिले राष्ट्रिय युवा संघमा अहिले त्यस्तै दुई धार भन्ने अझै नभएको बताएका छन् । अहिले राष्ट्रिय युवा संघमा जिल्ला अध्यक्ष रहेका कुवँर पुर्व माओवादी पक्षका हुन ।
त्यस्तै नेकपा निकट रहेको नेपाल शिक्षक संगठन, विद्यार्थी संगठन, महिला संगठन लगाएतका जनवर्गिय संगठनहरु केन्द्रको लडाईलाई पर्ख र हेरको अवस्थामा बसेको देखिए पनि कार्यक्रता आफु निकट तानातानको स्थितिमा पुगेका छन् । केही जिल्लामा भने कार्यक्रता तान्ने मात्र नभई पार्टी कार्यालय कब्जा गर्ने काम समेत सुरु भएको छ ।
चिन्हमै अल्झिए कार्यक्रता
पार्टी भित्रको भद्रगोलको स्थितिका कारण नेकपा भित्रका केही नेता कार्यक्रताहरु भने अहिले कुनैपनि पक्षमा देखिएका छैनन् बरु उनीहरु पार्टीको नाम र निर्वाचन चिन्हको पर्खाईमा बसेका छन् ।
केन्द्रमै एक समुह निर्वाचन आयोगको निर्णय र सर्वाेच्चको फैसला पर्खेर बसेका छन भने त्यसको असर जिल्ला तहमा पनि देखिन थालेको छ । विशेष गरी बामदेव गौतम निकटका केही नेताहरु र ओली, प्रचण्ड र माधव पक्षकै केही नेताहरुले पार्टीको चुनाव चिन्ह सूर्य र पार्टीको नाम पर्खेर बसेको देखिएको छ । नेकपा कपिलवस्तु वाणगंगा नगरपालिका वडा नम्बर ६ का कृष्ण प्रसाद पौडेल अहिले पार्टीको चुनाव चिह्न सूर्य जता हुन्छ त्यतै लाग्ने बताउँछन् । उनी जस्ता धेरै कार्यक्रताहरुले चुनाव चिह्न सूर्यको पर्खाईमा आफ्नो समर्थन दिने मनस्थितिमा देखाएका छन् । जनवर्गिय संगठनका नेता कार्यक्रताहरु पनि अहिले कुनैपनि धारमा उभिएका छैनन बरु उनीहरु पार्टी विभाजनको औपचारीक निर्णलाई पर्खेर बसेका छन् ।
जिल्ला अध्यक्ष र ईन्चार्जको आफ्नै दावी
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कार्यक्रताहरुमा विभाजनको स्थिति आईरहेका बेला कपिलवस्तुमा पनि आ आफ्नै दावी र मतभेदहरु प्रकट भएका छन्। नेकपा जिल्ला अध्यक्ष झविलाल पोख्रेल अहिले केपी ओली पक्षको केन्द्रिय समितिमा समावेश छन् । उनले राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई जेल हाल्ने प्रचण्ड–माधव नेपाल पक्षको योजना अनुसार उनीहरुको अपमानजनक कदमको परिणाम स्वरुप संसद विघठन भएको बताएका छन् । गत निर्वाचनमा समेत प्रधानमन्त्री केपी ओलीकै कारण जनमत आएको बताएका उनले प्रचण्ड र माधव नेपालले काममा अवरोध सिर्जना गर्ने र सरकारलाई असफल बनाउने खेलमा मात्रै लागेका कारण पार्टी भित्र यो स्थिति पैदा भएको बताए । कपिलवस्तुको हकमा भने अहिले नेपाल कम्युनिष्ट पार्टी नेकपा अझै जिवितै रहेको उनको भनाई छ । पार्टी भित्र कपिलवस्तुमा आफुहरुको पूर्ण बहुमत रहेको पनि पोख्रेलले दावी गरेका छन् । अहिले अर्काेपक्षमा उभिएकाहरु सँग पनि छलफल गरिने उनको भनाई छ ।


त्यस्तै नेकपा कपिलवस्तुका जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपानेको भने फरक मत रहेको छ । उनका अनुसार पार्टीभित्रको आन्तरिक समस्याका कारण प्रधानमन्त्रीले संसद र संविधानमाथी प्रहार गरेका कारण यो विरोधको आवाज आएको हो । उनले कपिलवस्तुको हकमा भने आफुहरु अझै कार्यक्रता र नेताहरुका बचिमा छलफलमा रहेका कारण जिल्लामा प्रचण्ड माधव समुहको बहुमत हुने देखिएको बताए । न्यौपाने तत्कालिन एकिकृत माओवादीका नेता हुन भने हाल नेकपा कपिलवस्तुमा जिल्ला अध्यक्ष एमालेबाट झविलाल पोख्रेललाई दिएपछि माओवादी पक्षबाट न्यौपाने जिल्ला ईन्चार्ज बनेका थिए ।
अहिले कपिलवस्तुमा जिल्ला अध्यक्ष पोख्रेल र जिल्ला सह ईन्चार्ज विमला घिमिरे केपी ओलीको केन्द्रिय समितिमा परेका छन भने जिल्ला सचिव रामचन्द्र शाह विष्णु र जिल्ला ईन्चार्ज गिरिधारीलाल न्यौपाने सहितका नेताहरु प्रचण्ड –माधव पक्षको कित्तामा उभिएका छन् ।
आ–आफ्नै दावी, आरोप र प्रत्यारोपको राजनिति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मुलत ः नाम एक तर पार्टी दुई बनिसकेको छ । नेता कार्यक्रताहरु दुई कित्ता र धुव्रमा उभिएका छन भने दुवै पक्षले एक अर्कालाई आरोप प्रत्यारोपको राजनितिक दावी गरिरहेका छन् ।
प्रधानमन्त्री समेत रहेको केपी ओली पक्षका नेता कार्यक्रताहरुले पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनलले पार्टी भित्र र बाहिर दुवै ठाउँमा काममा असहयोग गरेको भन्दै आरोप लगाईरहेका छन । उता अर्काे पक्ष प्रचण्ड–माधव पक्षले पनि ओलीले पार्टी भित्र एकलौटी निर्णय गर्ने, कार्यक्रताहरुका सुझावलाई वेवास्ता गर्ने र स्थाई कमिटि बैठकबाट भागेर संसद विघठन गर्न पुगेको आरोप लाईरहेका छन् ।
अहिले मुख्य गरी पार्टी भित्रको मुख्य समस्याको विषय गौण बनेको छ भने संसद विघठनको विषय जोडदार उठीरहेको छ । प्रचण्ड माधव पक्षले जसरी पनि संसद जिवित गराउनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन भने ओली पक्षले संसद विघठन मात्रै नभई अर्काे कडा कदम पनि चाल्न पछि नपर्ने चेतावनी दिईरहेको छ । प्रधानमन्त्रीले नयाँ मन्त्रीमण्डल विस्तार पनि गरिसकेका छन भने चुनावमा जानुको विकल्प नभएको बताईरहेका छन् । अर्काेतर्फ नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डको अर्काे लडाई पार्टीको नाम, झण्डा, चुनाव चिन्ह र पार्टी कार्यालयहरु कस्को भन्ने सुरु भएको छ । जसको असर प्रदेश कमिटी र जिल्ला कमिटीमा पनि प्रष्ट देखिन थालेको छ ।

दुबै समुहको जिल्ला बैठक एकैसाथ
नेकपा कपिलवस्तुका २ वटै समुहले आज एकैदिन जिल्ला कमिटीको बैठक तथा भेलाको अयोजना गरेर आफ्नो पक्षका जिल्ला नेताको पहिचान गर्ने भएका छन् । जस अनुसारक केपिआली निकट नेकपाको जिल्ला कमिटी बैठक तौलिहवा स्थित आफ्नै पार्टी कार्यलयमा आज ११ वजे आयोजना गरिएको कार्यलय सचिव धर्मराज भुसालले जानकारी दिए ।
यता प्रचण्ड नेपाल निकटको नेकपाले गोरुसिंहे स्थित थारु कल्याणकारीणी सभाको सभाहलमा जिल्ला बैठक भेला तथा सरकार विरुद्धको विरोधको आजै ११ वजे कार्यक्रम राखेको छ । साविक जिल्ला सचिव रामचन्द्र शाह विष्णुका अनुसार नेकपाका नेता घनश्याम भुसाल र चक्रपाणाी आर्यलले भेलामा संवोधन गर्ने कार्यक्रम तय भएको छ ।
देशैभर कार्यकर्तालाई आआफ्नो पक्षमा खडागर्ने अभियान चलाईरहेका दुबैपक्षका नेकपाले कपिलवस्तुमा भने कार्यकर्तालाई स्वेच्छाले जतालागेपनि कुनै दवाव श्रृजना नगर्ने नीति अख्तियार गरिएको दावि गरेका छन् । प्रचण्ड नेपाल समुहका नेता बिष्णु पन्थीले अहिले विभाजन भएपनि भोलीका दिनमा नमिल्दा सम्म कुनै पनि सार्थक उपलब्धी हासिल नहुने भएकाले विभाजनलाई मित्रवत रुपमै स्वीकार्नुको विकल्प नरहेको वताएका छन् ।
अर्काे तर्फ ओली निकटको नेकपाका केन्द्रिय नेता वलराम अधिकारीले नेकपाका कार्यकर्ताले आफ्नो बुद्धिविवेकको प्रयोग गरेर सही र बेठिक छुटाएरै बसेकाले कुनै दवाव वा प्रेसर आवश्यक नभएको औल्याए । ओली निकट नेकपाले कपिलवस्तुवाट १३ जनालाई केन्द्रिय कमिटी सदस्य बनाएकोले नेतृत्वको ठूलो पंक्ति ओलीका पक्षमा जान सक्ने आकलन गरिएपनि आज हुने बैठकवाट जिल्ला नेताहरु को कता लाग्नेछन् सोका आधारमा शक्तिको पहिचान हुने वताइएकोछ ।
नेकपाका केहि जिल्ला नेता भने तत्काल दुबै समुहको बैठकमा नगएर धैर्यता पूर्वक हेरेर कित्ता क्लियिर गर्ने सोचमा रहेको जानकारी प्राप्त भएकोछ । तर असन्तुष्ट बनेर नेकपा छाड्ने वा निष्कृय बस्ने मानसिकता भने कार्यकर्तामा भेटिएको छैन ।

 

प्रतिक्रिया

खबर सबै