रुकुम –पूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको १ र २ मा वर्षमा एक बाली मात्र उत्पादन, पछिल्लो समय त्यहि जग्गा नि बाझीदै ।।

कार्तिक १६, ई–साझाकुरा

रुकुम –पूर्वको विभिन्न क्षेत्रमा यतिबेला गहुँ र जौ छर्ने काम चलिरहेको छ । कोरोना महामारी र कामको चटारोको बिचबाट दशैलाई बिदाई गरेका उनिहरुलाई अहिले पनि बारीमा गहुँ, मकै रोप्ने र डल्ला फोर्ने चटारो छ ।

जहाँ पनि वर्षभरीमा दुई बाली र कतैकतै त तीन बाली पनि भित्र्याउने गरिन्छ । तर जिल्लाको पुथाउत्तरगंगा गाउँपालिकाको केहि क्षेत्रमा एक वर्षमा एक बाली मात्र भित्र्याउने गरिन्छ । पुथाउत्तरगंगा गाउँपालिकाको वडा नम्बर १ र २ का नागरिकले अन्य ठाउँको जस्तो गहुँ भित्र्याएर मकै र मकै भित्र्याएर गहुँ लगाउदैनन् ।

१ र २ नम्बर वडाको मैकोट पेल्मा लगाएतको ठाउँमा वर्षभरीमा एक बाली मात्रै उत्पादन हुन्छ । गहुँ छर्ने ठाउँमा भने मकै नरोपेर जग्गा बाझै राख्नुपर्ने मैकोटका कर्मसाही घर्तीमगरले बताउनुभयो । असोज–कात्तिक महिनामा लगाएको गहुँ असार–साउन महिनामा पाक्ने भएकाले त्यसपछि मकै लगाउने जग्गा चैतसम्म बाँझै राख्नुपर्ने उहाँको भनाई छ । त्यस क्षेत्रमा असार वा साउनमा लगाएको मकै फल्दैन ।

राम्रो मकै उत्पादन गर्ने हो भने चैतमा नै मकै लगाउनुपर्ने वडा नम्बर १ का बरुण पुनले बताउनुभयो । ‘चैतमा मकै लगाउने जग्गामा हामी असोज–कात्तिकमा गहुँ लगाउँदैनौं,’ पुनले भन्नुभयो, ‘कतिपयले गहुँ भित्र्याएपछि तोरी र फापर छर्ने भए पनि प्रायजसोले मकै लगाउने जग्गा बाँझै राख्ने गर्छौ ।’

हिमाली क्षेत्र भएकाले बाली समयमै नपाक्ने स्थानीयले बताएका छन् । फागुन–चैतमा आलु लगाउने त्यस क्षेत्रका जग्गा पनि अर्को चैतसम्म बाँझै हुन्छन । फागुन–चैत्रमा लगाएका आलु भदौ असोजमा निकालिन्छ । त्यसपछि जग्गा चैतसम्म बाँझै रहन्छ ।

केहि समयमा हिउँ जमिरहने, टुसरो जम्ने र जलवायु परिवर्तनका कारण वर्षमा एक बालि मात्र भित्र्याउने गरेको कर्मशाहीले बताउनुभएको छ । धेरै जग्गा जमिन हुनेहरुको भने वर्षको एक बालीले मात्र भएपनि खान पुग्छ तर थोरै जग्गा जमिन हुनेहरुको भने वर्षको एक बालीले मात्र आन लाउन नपुग्ने उहाँले बताउनुभयो । त्यस्ता व्यक्तिहरुले जडिबुडी संकलन गरेर घरखर्च चलाउने गरेका छन् ।

यस्तै पछिल्लो समयमा त्यहाँका कतिपय नागरिकले त्यहि एक बाली अन्न पनि उत्पादन गर्न छोड्दै गएका छन् । दुख धेरै हुने र आम्दानी न्यून हुने भएकाले मानीसहरुले दुख गर्न छोडेको वडा नम्बर २ पेल्माका जगधन घर्तीले बताउनुभयो । मानिसहरुले खेतीपाती गर्न छोड्दै गएपछि भएका जग्गाहरु पनि बाझीदै गएको उहाँले बताउनुभएको छ ।।

 

प्रतिक्रिया