


परदेशीलाई दशैँको पिडा



अमित प्रकाश पाण्डे अर्घाखाँची (बलकोट) , हाल यूएई

भोलि त घर लिप्ने हो भनेर गाउँका दाजुभाइ–दिदीबहिनी डोको बोकेर कमेरो र रातोमाटो लिन जाने दशैँ आइसक्यो ।
परिवारको खुशी र भविष्यका अनगिन्ती सपनाहरु पूरा गर्ने आशाले सात समुन्द्र पारी ल्याइ पुर्यायो । दशैँ तिहार जस्ता महान पर्वमा घर गएर बुवा–आमाको आशिष लिँदै टीका र जमरा लगाउने मन नभएको त कहाँ हो र ? तर न त भनेको बेला जहाजको टिकट पाइन्छ, न त अहिलेको अवस्थामा घर जान नै सहज छ । महामारीका कारण अनेकौं कठिनाइ भोगेर बल्लतल्ल आफू कार्यरत कम्पनीमा काम नियमित भएको बेला बिदा माग्न पनि मनले मान्दैन ।
तीन चार महिनामा हुने कमाइ त घर जाने हो भने एकतर्फी टिकटमै सकिन्छ । नेपाल पुगेपछि पनि फेरि अनेकथरी जाँचको महँगो शुल्क तिर्नुपर्छ । यसरी थुपारिएको अनेकथरी शुल्कले परदेशीलाई पीडा माथि पीडा थपेको छ । त्यसैमाथि उता गएपछि आउन पाइने हो कि होइन, कुनै निश्चित छैन । आफ्नै देशमा छँदा जे जस्तो भए पनि परदेशमा चित्त बुझाउन सकिंदैन रहेछ । त्यसैमाथि चाडपर्वको समय ।
अरुबेला त काम गर्यो, विभिन्न बहाना बनायो, मन बुझायो । तर चाडपर्व आउँदा भने मन भक्कानिन्छ । कतिबेला घर जाउँ र कति बेला परिवार भेटौँ अनि दुःखसुखका कुरा गरौँ जस्तो हुन्छ । परिवारसँगै बसेर खाना खान पाए हुन्थ्यो भन्ने कुरा मनमा बिझाइरहन्छ । त्यसपछि एकान्तमा रुनुबाहेक अरु केही हुँदैन ।
देशको फितलो कानुन तथा देशभित्रै रोजगारीका अवसर नहुँदा हरेक चाडपर्वले मजस्ता हजारौँ युवालाई रुवाउँछन् । परदेशमा ईद, रमदानमा छुट्टी मिले पनि आफ्नो महान पर्वमा बिदा नपाउँदा मन खल्लो हुन्छ । कम्पनीको काम सकेर कोठमा पुगेपछि फेसबुक खोलिन्छ । गाउँघरमा टीका लगाएकार सेल्फी खिचेका फोटाहरु देखिन्छन् । त्यही हेरेर चित्त बुझाइन्छ ।
केही वर्ष पहिलेको दशैँमा त मैले पनि यसरी नै टीका लगाएको थिएँ भनेर याद गरिन्छ । बस् त्यति त हो परदेशमा गर्ने भनेको । कसले कति दक्षिणा दिए भन्दै गन्न थालिहाल्ने मलाई आज दशैँको सम्झानाले निकै पिरोलेको छ । आमाको निकै याद आउँछ ।
‘कान्छा पोहोर पनि आइनस् यसपालि पनि खै कोरोना भन्छन क्वरेण्टीन भन्छन के आउलास् र’, आमाले फोन गर्दै भन्नुहुन्छ, ‘माया मारिस् है, मुख देख्नै नपाई परलोक गइन्छ जस्तो छ ।’ आमाले यसो भन्दा मुटुमा गाँठो पर्छ तर पनि आमालाई सम्झाउनै पर्यो । ‘अहिले यता पनि अलि अप्ठ्यारो छ, भनेको बेला टिकट नि पाउँदैन यो कोरोना अलि कम भएपछि आउँछु नि आमा, पीर नगर्नुस है’ भनेर सम्झाउँछु ।


खबर सबै
-
भारत–जापान टी-२०आईमा वाइडको निर्णय उल्टिएपछि विवाद, के छ नियम ?
-
श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ
-
बँदेल मार्न अनुमति कुर्दै किसान
-
एसियाली खेलकुदः महिला कबड्डीमा नेपालको जित
-
हथौसा लिटिल पत्रु खाना निषेध अभियान तथा सचेतनामूलक कार्यक्रम
-
लायन्सको स्वागतमा प्रहरी निरीक्षक कार्की, प्रहरी र लायन्सबीच सहकार्यको प्रतिबद्धता






प्रतिक्रिया