

यातायात कार्यालयले चालक अनुमतिपत्र वितरणको काम रोक्यो



ई–साझाकुरा, साउन २०
काठमाडौँ उपत्यकाका चारवटै यातायात व्यवस्था कार्यालयले आइतबारदेखि चालक अनुमतिपत्र वितरण कार्य रोकेका छन् । सेवाग्राहीको अत्यधिक भीडका कारण कार्यालयले तत्कालका लागि सेवा स्थगित गरेको जनाएका हुन् ।
कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि सरकारले सामाजिक दूरी कायम गर्न भने पनि सेवाग्राहीको अत्यधिक भीडका कारण त्यो कायम हुन सकेको थिएन । कार्यालयले असारदेखि सेवा दिँदै आएकामा कार्यालयमा सेवाग्राहीको घुइँचो हुने गरेको थियो । कार्यालयमा अत्यधिक भीडका कारण खटिएका चार सुरक्षाकर्मीलाई पनि भीड नियन्त्रण गर्न गारो भएको एकान्तकुनास्थित कार्यालयका प्रमुख डम्मरबहादुर कार्कीले बताए ।
उनका अनुसार काठमाडौँ उपत्यकामा सङ्क्रमण बढिरहेकाले यहाँसँगै जगाती, सुकेधारा र ठूलोभ¥याङ गरी चारै कार्यालयले अहिलेको अवस्थामा सेवा बन्द गरेका छन् । उनले भने, “उपत्यकामा कोभिड कम नभएसम्म तत्काल सञ्चालन गर्ने अवस्था छैन ।” कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिने, अनुमतिपत्र वितरण र नवीकरण गर्दै आएको थियो । त्यसमध्ये कार्यालयले बन्दाबन्दीपछि नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएको छैन ।
अनुमतिपत्र नवीकरण भइरहे पनि वितरणको काम पनि तत्कालका लागि रोकिएको हो । चालकले यसअघि जसरी नै अझै केही समयका लागि कार्यालयले दिएको राजश्व तिरेको कागजबाटै सवारी साधन चलाउनुपर्ने उनको भनाइ छ ।
नवीकरणका लागि पनि आउने सेवाग्राहीको भीड नहोस् भनी टोकन प्रणाली लागू गरिएको छ । कुपन लिएका दैनिक २५० सेवाग्राहीको नवीकरण भइरहेको छ । उनले भने,“सामान्य अवस्थामा ५०० को नवीकरण भएकामा अहिले त्यसको आधा गरिएको हो ।”


खबर सबै
-
एनपीएल क्रिकेटको उपलब्धि तथा आगामी संस्करणका अपेक्षा
-
दसौंँ राष्ट्रिय खेलकुदअन्तर्गत पौडी प्रतियोगिता नेपालगन्जमा सुरु
-
एकदिवसीय क्रिकेटमा वैभव सूर्यवंशीको कीर्तिमान
-
रुपन्देहीमा दाउरा प्रहारबाट घाइते श्रीमानको मृत्यु, श्रीमती पक्राउ
-
भारतबाट फर्केपछि ‘देश उँभो लाउने टोली’ भन्दै बालेनले राखे दुई मन्त्रीसँगको तस्बिर
-
१७औँ कपिलवस्तु महोत्सवलाई शैक्षिक र सांस्कृतिक उत्सवका रूपमा विकास गर्ने तयारी







प्रतिक्रिया