

अर्घाखाँची : सात तालको लयमा गुन्जियो भैरव नाच



पुस्तौँदेखिको सांस्कृतिक विरासतसँग जोडिएको भैरव नाचले अर्घाखाँचीका हजारौँ दर्शकलाई मन्त्रमुग्ध बनाएको छ । सात वटा फरक ताल, परम्परागत बाजाको गुञ्जनसहित काल, श्वेत र रक्तभैरवका आकर्षक स्वरूपमा भैरव नाचको प्रदर्शन हुन्छ । नेवार समुदायको मौलिक सांस्कृतिक सम्पदाका रूपमा रहेको भैरव नाच हेर्न जिल्लाका विभिन्न स्थानमा उल्लेख्य उपस्थिति थियो । नेवाः समाज अर्घाखाँची–रुपन्देहीले प्रस्तुत गरेको नाचले समुदायको परम्परा र धार्मिक आस्थालाई जीवन्त रूपमा झल्काएको थियो ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१, पटुवाधुम, वडा नं. १२ ढिभर्ना तथा भूमिकास्थान नगरपालिका–८, नुवाकोट र लानेचौरमा नेवार समुदायले परम्परागत रूपमा भैरव नाच प्रदर्शन गर्दै आएका छन् । यस वर्ष भैरव नाच प्रदर्शन गर्नेमा नुवाकोट भैरव समाज पनि थपिएको छ । जन्मथलोबाट टाढा रहेका नेवार समुदायले बुटवललगायतका स्थानमा समेत यसको प्रदर्शन गरेका हुन् । भैरव नाचको आफ्नै धार्मिक विधि र समयसीमा छ । अर्घाखाँचीमा श्रीकृष्ण जन्माष्टमीदेखि सुरु हुने यो नाच कार्तिक पूर्णिमासम्म प्रदर्शन गर्ने परम्परा छ । अर्घाखाँची भैरव नाच संरक्षण समितिका संयोजक राजकुमार श्रेष्ठका अनुसार नाच सुरु गर्नुअघि तान्त्रिक विधि अनुसार पूजा गर्ने प्रचलन रहेको छ । धार्मिक मान्यता अनुसार निर्धारित समयभित्रै नाच विसर्जन गर्नु पर्छ ।
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले नाचको मुख्य विशेषता सात वटा फरक ताल हो भन्नुभयो । प्रत्येक तालको लय र प्रस्तुति शैली फरक हुने श्रेष्ठको भनाइ रहेको छ । उहाँका अनुसार एउटा ताल सामान्यतया करिब १० मिनेटको हुने र बिचमा छोटो विश्रामपछि अर्को ताल सुरु गर्ने चलन छ । नाचमा कालभैरव मुख्य पात्रका रूपमा प्रस्तुत हुन्छन् भने श्वेतभैरव र रक्तभैरव सहायक पात्रका रूपमा रहन्छन् । भैरव नाचमा डङ्किनीको भूमिका पनि महìवपूर्ण हुन्छ । खप्पर, विशेष पोसाक, चमर, माला र परम्परागत शृङ्गारले सजिएका भैरवका स्वरूपले नाचलाई थप आकर्षक बनाउँछन् । स्थानीय धार्मिक विश्वास अनुसार पञ्चौँ तालमा तान्त्रिक विद्यामा निपुण व्यक्तिमा भैरवको शक्ति प्रकट हुने मान्यता छ ।
भैरव नाचमा खीं, भुर्मा, सहनाईलगायतका परम्परागत बाजा प्रयोग गरिन्छन् । सन्धिखर्क नगरपालिका–१२, छापका वसन्त श्रेष्ठले बाजाको धुन र नर्तकको चालबिचको तालमेलले नाचलाई जीवन्त बनाउने बताउनुभयो । लाठी, घोडा, चरा र लाहा–लाहुरी नाचले पनि प्रदर्शनलाई थप रोचक बनाउने गरेको छ । सन्धिखर्क नगरपालिका–१ का वडाध्यक्ष माधव श्रेष्ठका अनुसार भैरव नाच नेवार समुदायको ऐतिहासिक तथा सांस्कृतिक पहिचान भए पनि यसको आकर्षण अन्य समुदायसम्म विस्तार भएको बताउनुभयो । पश्चिम नेपालका अर्घाखाँची, पाल्पा, बागलुङ, दैलेखलगायतका जिल्लामा प्रचलित यस नाचको शैली ठाउँ अनुसार फरक पाइन्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया