

बाढीले देशभर एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध



शभर भएको अविरल वर्षा र बाढीले विद्युत् उत्पादन तथा प्रसारण प्रणालीमा ठूलो क्षति पुर्याएको छ । बाढी र नदीमा आएको अत्यधिक बहावका कारण देशभर करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको छ ।
नेपाल विद्युत प्राधिकरणका अनुसार, बाढीका कारण कालीगण्डकी करिडोर प्रसारण लाइन अवरुद्ध हुँदा उक्त लाइनमार्फत प्रवाह हुने १३ वटा उत्पादन केन्द्रबाट करिब ३७० मेगावाट विद्युत् उत्पादन बन्द भएको छ ।
त्यसैगरी, म्याग्दी, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लामा रहेका थप १४ वटा विद्युत् उत्पादन केन्द्र नदीमा अत्यधिक बहाव आएपछि बन्द भएका छन् । ती आयोजनाबाट करिब ६३० मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।
यसरी प्रसारण लाइनमा भएको क्षति र जलविद्युत् केन्द्रहरू बन्द हुँदा प्रणालीमा समग्रमा करिब एक हजार मेगावाट विद्युत् उत्पादन अवरुद्ध भएको हो ।
विद्युत् आपूर्ति व्यवस्थापन गर्न उद्योगको खपत घटाइयो
विद्युत् आपूर्ति प्रणाली सन्तुलनमा राख्न केही उद्योगहरूको विद्युत् खपत घटाएर व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । बाढीका कारण विद्युत् आपूर्तिमा समेत केही असहज अवस्था सिर्जना भएको छ ।
प्राधिकरणको सहायक कम्पनी रघुगंगा जलविद्युत् कम्पनीद्वारा प्रवर्द्धित ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् केन्द्रको स्वीचयार्डमा कालीगण्डकी नदीले कटान गरी क्षति पुर्याएको छ ।
बाढी तथा पहिरोका कारण अन्य स्थानमा पुगेको क्षतिको विवरण संकलन भइरहेको प्राधिकरणले जनाएको छ ।









प्रतिक्रिया