

कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’



राजेन्द्र खनल, कपिलवस्तु | कहिलेकाहीँ एउटा तस्बिर केवल तस्बिर हुँदैन । त्यसले एउटा समय बोल्छ, एउटा समाज देखाउँछ र पुस्तौँदेखि चलिआएको जीवनशैलीलाई आँखाअघि ल्याइदिन्छ । कपिलवस्तुका फोटोग्राफर कुमार तिवारी कर्णको क्यामेराले कैद गरेको एउटा यस्तै तस्बिरले राष्ट्रिय फोटोग्राफी प्रतियोगितामा प्रथम स्थान हासिल गरेको छ ।
प्यूठानको झिम्रुक गाउँपालिका–८, टिमुरचौरमा खिचिएको त्यो तस्बिरमा ७० वर्षीय एक किसान दुई गोरु लगाएर खेत जोतिरहेका छन् । नजिकै ६६ वर्षीया महिला बारीमा मकै छरिरहेकी छन् । खेत, गोरु, हलो, माटो र किसानको श्रमसँगै देखिने त्यो दृश्यमा नेपाली ग्रामीण जीवनको एउटा जीवन्त कथा छ । त्यही कथालाई क्यामेराको लेन्समा उतारेका कुमारले पाँचौँ पोखरा फोटोग्राफी अवार्डअन्तर्गत ‘रामतारा दैनिक जनजीवन अवार्ड’मा प्रथम स्थान हासिल गरेका हुन् ।
फोटोग्राफर संघ पोखराले आयोजना गरेको राष्ट्रियस्तरको प्रतियोगितामा कर्णले नेपाली ग्रामीण जीवन र दैनिक जनजीवनसँग सम्बन्धित विधा रोजेका थिए । उनले टिमुरचौरमा देखेको उक्त दृश्यलाई क्यामेरामा कैद गरेर प्रतियोगितामा पठाएका थिए । निर्णायकको नजरमा त्यो तस्बिर केवल कृषि कर्मको दृश्य रहेन, बरु नेपाली ग्रामीण समाजको मौलिक जीवनशैली, श्रम र परम्पराको प्रतिबिम्ब बन्यो ।
कुमारका लागि त्यो तस्बिर कुनै पूर्वयोजना बनाएर खिचिएको थिएन । गाउँको परिवेशमा हिँड्दै गर्दा उनले देखेको एउटा सामान्य दृश्यले उनको ध्यान तान्यो । एकातिर उमेरले ७० वर्ष पुगेका पुरुष परम्परागत कृषि उपकरणको प्रयोग गर्दै दुई गोरुले खेत जोतिरहेका थिए । अर्कोतिर पछिपछि ६६ वर्षीया महिला बारीमा मकै छर्दै थिइन् । उमेरले वृद्ध भए पनि खेतबारीको काममा सक्रिय दम्पतीको त्यो दृश्यले कुमारलाई रोक्यो । उनले क्यामेरा उठाए । केही क्षणको त्यो दृश्यलाई लेन्समा सुरक्षित गरे । तर त्यतिबेला उनले खिचेको त्यो सामान्यजस्तो लाग्ने तस्बिरले राष्ट्रियस्तरको प्रतिस्पर्धामा आफूलाई प्रथम बनाउला भन्ने कल्पना गरेका थिएनन् । आज त्यही तस्बिर उनको फोटोग्राफी यात्राको एउटा महत्वपूर्ण उपलब्धि बनेको छ ।
अवार्ड प्राप्त गरेसँगै फोटोग्राफर कुमार तिवारीले भने, ‘तस्बिरमा किसानको हातमा रहेको हलो मात्र छैन । त्यसमा नेपाली ग्रामीण जीवनको इतिहास छ । गोरुसँग जोडिएको परम्परागत कृषि प्रणाली छ । पुस्तौँदेखि माटोसँग जोडिएको किसानको श्रम छ । खेतबारीमै जीवन बिताउँदै आएको ग्रामीण समाज छ । अझ महत्वपूर्ण कुरा, तस्बिरले उमेरले वृद्ध हुँदै गए पनि आफ्नो माटोसँगको सम्बन्ध नछोडेका किसानको जीवनलाई देखाउँछ ।’ उनले भने जस्तै भएरै उक्त तस्बिर निर्णायकको नजरमा विशेष बन्यो ।

कपिलवस्तुमा विगत १८ वर्षदेखि फोटोग्राफी गर्दै आएका कुमारका लागि यो अवार्ड एकैदिनको उपलब्धि होइन । झन्डै दुई दशकदेखि उनले क्यामेरालाई आफ्नो पेशा र सिर्जनाको माध्यम बनाउँदै आएका छन् ।
बाणगंगामा स्मार्ट फोटोग्राफी सञ्चालन गर्दै उनले व्यावसायिक फोटोग्राफरका रूपमा आफ्नो पहिचान बनाएका छन् । विवाह, सामाजिक कार्यक्रमदेखि विभिन्न गतिविधिका तस्बिर खिच्दै आएका उनले पछिल्लो समय फोटोग्राफीलाई सिर्जनात्मक अभिव्यक्तिको माध्यमका रूपमा पनि अघि बढाउँदै आएको बताउँछन् ।
उनी कपिलवस्तु फोटोग्राफर संघका वरिष्ठ सल्लाहकार हुन् भने नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेश सचिवको जिम्मेवारीमा समेत छन् ।
राष्ट्रियस्तरको प्रतियोगितामा कपिलवस्तुबाट प्रतिनिधित्व गर्दै प्रथम स्थान हासिल गर्नु कुमारका लागि व्यक्तिगत उपलब्धि मात्रै होइन । यसले जिल्लाको फोटोग्राफी क्षेत्रको सम्भावनालाई पनि राष्ट्रिय मञ्चमा पु¥याएको छ । कपिलवस्तुमा फोटोग्राफीलाई व्यवसायका रूपमा अंगालेर सिर्जनात्मक काम गरिरहेका धेरै फोटोग्राफरका लागि उनको सफलता प्रेरणाको विषय बन्न सक्छ ।

कुमारको बुझाइमा फोटोग्राफी केवल क्यामेरा चलाउने सीप होइन । मानिस, समाज, संस्कृति र समयलाई बुझेर त्यसलाई एउटा फ्रेममा अभिव्यक्त गर्ने कला पनि हो । पछिल्लो अवार्डले स्थानीय फोटोग्राफरहरूलाई व्यावसायिकसँगै सिर्जनात्मक फोटोग्राफीमा अघि बढ्न थप उत्साह मिल्ने उनको विश्वास छ ।
एकातिर गाउँमा पसिना बगाइरहेका वृद्ध किसान । अर्कोतिर बारीमा मकै छरिरहेकी वृद्ध महिला । बीचमा प्रकृति र माटोसँग जोडिएको जीवन । कुमारको क्यामेराले त्यही सामान्य दृश्यभित्र लुकेको असाधारण कथा देख्यो । र, त्यही कथाले उनलाई यतिबेला राष्ट्रिय फोटोग्राफीको मञ्चमा प्रथम बनायो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया