आज साउनको तेस्रो सोमबार, ‘घस्रेर तौलेश्वरनाथ महादेव मन्दिरमा जलार्पण’

कपिलवस्तु | साउन महिनाको तेस्रो सोमबार आज पशुपतिनाथलगायत देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खुला गरेको छ ।

पशुपति क्षेत्रमा अहिले पनि हजारौँ भक्तजन पूजा, आराधना एवं दर्शनका लागि लाममा बसेका छन् ।

साउन महिना र सोमबार भगवान् शिवको प्रिय महिना एवं बार भएकाले शिवालयमा पूजा, आराधना गर्ने वैदिक कालदेखिको परम्परा छ । यस वर्ष साउन महिनामा चारवटा सोमबार परेका छन् ।

साउन महिनाको अर्को आकर्षण बोलबम यात्रा पनि हो । शिवभक्त हिन्दू धर्मावलम्बीहरू पहेँलो पोशाक लगाएर खाली खुट्टा पैदल हिँडेर पशुपतिनाथको दर्शनका लागि पुग्ने गर्दछन् ।

काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत महादेव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।

घस्रेर तौलेश्वरनाथ महादेवमा जलार्पण

साउन महिनाको तेस्रो सोमबारको अवसरमा तौलिहवा स्थित प्राचीन तौलेश्वरनाथ महादेव मन्दिरमा सयौँ श्रद्धालुहरूले घस्रेर जलार्पण गरेका छन्। धार्मिक आस्थाका साथ भक्तजनहरू बिहानैदेखि रामघाट नदीमा स्नान गरी करिब ४ किलोमिटरको दुरी घस्रिँदै मन्दिरमा पुगेर जल चढाएका हुन्।

शिवभक्तहरू कठिन यात्राको माध्यमबाट भगवान शिवलाई प्रसन्न पार्ने उद्देश्यले यस्तो परम्परागत शैलीमा जलार्पण गर्न आएका थिए। विशेषतः महिला, युवा तथा वृद्धसमेतको उल्लेख्य सहभागिता देखिएको थियो।

मन्दिर परिसरमा भीड निकै बाक्लो देखिएको छ। भक्तजनहरू ‘बोलबम’ र ‘जय शम्भो’ नारासहित धार्मिक उत्साहसाथ लामबद्ध भई घस्रिंदै अगाडि बढिरहेका थिए। स्थानीय स्वयंसेवक, सुरक्षाकर्मी र मन्दिर व्यवस्थापन समितिको सहकार्यमा श्रद्धालुको भीड व्यवस्थापन गरिएको थियो।

तौलेश्वरनाथ महादेव मन्दिर साउन महिनाभर जलार्पण गर्ने प्रमुख स्थलका रूपमा परिचित छ। विशेषतः साउनको सोमबारहरूमा यहाँ भक्तजनको उल्लेख्य घुइँचो लाग्ने गर्छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार, यो धार्मिक गतिविधिले न केवल स्थानीय धार्मिक चेतना बलियो बनाउने काम गर्छ, तर पर्यटक तथा भक्तजनको आगमनले स्थानीय आर्थिक गतिविधिमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

खबर सबै