

जिल्ला अदालतको आदेशविरुद्ध रविको धमाधम पुनरावेदन





बुटवल | सहकारीको रकम अपचलन मुद्धामा लामो समयदेखि लडिरहेका रास्वपा सभापति रबि लामिछाने अदालतबाट भएका आदेशपछि रिहाइ त भएका छन, तर उनी जहाँ जहाँबाट रिहा भए त्यहाँ अर्काे कसरतमा दौडिएका छन् । पछिल्ला केहि साता यता उनी धरौटीमा रिहा भएका स्थानहरुमा पुनरावेदन गरिरहेका हुन ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका रवि जिल्ला अदालतको आदेशबिरुद्ध उच्च अदालतमा पुनरावेदन गर्न पुगे । सरकारी वकिलले फागुन १ मा लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन परेको थियो । लामिछानेले एक करोड धरौटी खारेजी र साधारण तारेखमा छाड्न माग गर्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए । तर गत बिहिबार उनको यो मुद्धा मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
गोलप्रथाबाट न्यायाधीश जगतबहादुर थापाको इजलासमा लामिछानेको मुद्दा परेको थियो । तर सुप्रिम सहकारीसम्बन्धी जिल्लाबाट आएको सोही प्रकृतिको मुद्दा यसअघि पनि हेरेकाले यो मुद्दा हेर्न नमिल्नेमा परेको हो । उच्च अदालत तुलसीपुर बुटवलको ५ नम्बर इजलासमा लामिछानेको पेसी न्यायाधीश थापा र सागर विष्टको संयुक्त बेन्चमा परेको थियो । उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी रामबहादुर कुँवरले अब अर्को हप्ता यो मुद्दा अन्य न्यायाधीशले हेर्ने बताए ।
सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको अभियोगमा बचतकर्ता नारायणबहादुर पहराईको नेतृत्वले जाहेरी दिएको थियो । उक्त मुद्दामा सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङ सुरुदेखि थुनामा रहेका छन् ।
यस्तै उता स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा ६० लाख धरौटी माग्ने काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध पनि रविले पुनरावेदन गरेका छन् । गत माघ ३ गते न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले रविलाई ६० लाख धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो । उक्त धरौटी मागको आदेश बदर गरी तारेखमा बसी मुद्दा पुर्पक्ष गरी पाऊँ भनी लामिछानेले दफा ७३ बमोजिम पाटन उच्च अदालतमा निवेदन गरेका हुन् । पुनरावेदन निवेदन दर्ता गराउन लामिछाने हरिहर भवन आउने जानकारीपछि रास्वपाका नेता–कार्यकर्ता अदालत बाहिर जम्मा भएका थिए ।
यस्तै चितवनको सहारा सहकारी सम्बन्धी मुद्दामा माघ २४ गते ५४ लाख धरौटी मागेको मुद्दामा पनि उनले पुनरावेदनको तयारी गरेका छन् । लामिछानेले कास्की अदालतको धरौटी आदेशविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् । पर्साको सानो पाइला सहकारी बचत अपचलनको मुद्दामा लामिछानेविरुद्ध अनुसन्धान जारी छ । मुद्दा भने दर्ता गरिसकिएको छैन ।
भूतपूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछाने लामो समय प्रहरी हिरासतमा रहे । उनीसँग कास्की, रूपन्देही, चितवन, काठमाण्डू र पर्सामा बयान लिइएको थियो । पटक पटकको ठाउँठाउँको बयान पश्चात अहिले सम्म उनी चार जिल्लाबाट धरौटीमा रिहा भएका छन् । उनी बरिुद्धको मुद्धा अब पर्सा जिल्लामा मात्रै बाँकी छ। तर यहाँ कहिले बयान हुन्छ र उनको बाँकी भविष्य के हुन्छ भन्ने यकिन छैन । लामिछानेले भने आफुलाई जिल्ला अदालतले गरेको आदेशमा तोकिएको धरौँटी रकम फिर्ताको माग गर्दै पुनरावेदन गरिरहेका छन् । अनुसन्धानका सिलसिलामा पर्साको वीरगन्ज पनि उनलाई लगिएको थियो । तर अदालती पक्रिया भने अझै सुरु भएको छैन ।
उनले शुक्रबार मात्रै पनि अब समय छिटै आउने भन्दै सबैलाई तयार रहन आग्रह गरे । उनले भने समय आउँदै छ, चाडैँ नै, गेट रेडि फर द रिवोलुसन । उनको यो अभिव्यक्तिको अहिले चासोका साथ हेरिएकोछ । लामो समय अदालती उल्झनमा रुमल्लिएका रबि विस्तारै अहिले बाहिर देखिन थालेका छन भने बढो अडकलका साथ आफ्ना अभिव्यक्ति अति संक्षिप्तमा दिन पनि थालेका छन् । उनले यस अघि पनि नेताहरुले पोखरी ठुलै खनेकाले यो पोखरिमा एक एक जना गरी सबैलाई आफुले ल्याउने उद्घोष गरेका थिए ।
तर उनको मुद्धाको पुर्णतया किनारा अझै लागेको छैन । उनको सासंद पद समेत निलम्बनमा रहेका कारण उनी हाल संसदमा समेत उपस्थित भएर आफ्ना विचार राख्न पाएका छैनन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया