

आज नवरात्रिको अन्तिम दिन, शक्तिपीठहरुमा घुइँचो



काठमाडौं : बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । महाअष्टमीको दिन महागौरी र कालरात्रिको पूजा गरिन्छ ।
यसैगरी नवमीको दिन नवदूर्गाहरुको पूजा गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ । दुर्गाको प्रतीकका रुपमा कन्यालाई पूजा गरी दक्षिणासमेत दिइन्छ ।
नवरात्रको अन्तिम दिन आज पनि देशभरका शक्तिपीठमा पूजा गर्नेहरुको घुइँचो छ । मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ ।
दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि सहित दुर्गा भवानीको विशेष पूजा गरिन्छ ।
पशुबलि नदिने र शाकाहारीहरुले भने महानवमीका दिन कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन पनि छ ।
महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन रहेको छ ।
तलेजु भवानी मन्दिर खोलिँदै
यसैबीच हनुमानढोका दरबार क्षेत्रमा रहेको वर्षमा एकपटक आज अर्थात् महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर खुल्ने गर्दछ ।
मन्दिर खुला गरेर भक्तजनलाई दर्शन गराउने तयारी पूरा भएको हनुमानढोका दरबार हेरचाह अड्डाले जनाएको छ ।
तलेजु भवानीलाई भने फूलपातीकै दिन हनुमानढोका दरबारको मूलचोकमा ल्याइएको छ । तलेजु भवानीलाई विजयादशमीका दिन बिहानमात्र मूल मन्दिरमा फर्काउने चलन छ ।
नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।
यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।
नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीको दिन रातो टीका र जमरा लगाइन्छ ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया