

लुम्बिनी प्रादेशिक अस्पतालले मनायाे ११४औँ वार्षिकोत्सव





लुम्बिनी प्रादेशिक अस्पतालले ११४औँ वार्षिकोत्सव मनाएको छ । १९६७ सालमा दुईजना भारतीय चिकित्सक र ६ शय्याबाट सुरु भएको अस्पतालले ११४औँ वार्षिकोत्सव मनाउने दिनसम्म आइपुग्दा विशेषज्ञ तथा मेडिकल अधिकृतसहित एक सय २७ जना चिकित्सक, नर्सिङ कर्मचारी दुई सय ९४ जना, पारामेडिक्स कर्मचारी एक सय ५७ सहित विभिन्न क्षेत्रमा गरी यहाँ आठ सय १५ जना कर्मचारी कार्यरत रहेका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर सुदर्शन थापाका अनुसार हाल यहाँ चार सय ९० बेड सञ्चालनमा छन् । अस्पतालमा दैनिक ओपिडीमा एक हजार पाँच सयदेखि दुई हजारजना तथा इमर्जेन्सीमा दुई सय देखि दुई सय ५० जना सम्म बिरामी आउने गर्छन् ।
बिरामीको चाप रहेको यस अस्पतालमा सात सय बेड क्षमताको १० तले भवन बनाउने योजना अगाडि बढाइएको छ । त्यस्तै, चार तले एक सय बेड क्षमताको क्यान्सर उपचारका लागि अत्याधुनिक भवन बनाउने योजना अगाडि बढाइएको छ । यहाँ एक हजार दुई सय बेडको अस्पताल बनाउने गरी योजनासमेत अगाडि बढेको छ ।
अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गरी सेवा थप गर्दै लैजान्छाैंँ: स्वास्थ्यमन्त्री खनाल
वार्षिकोत्सव समारोहमा बाेल्दै लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री राजु खनालले प्रदेशको नेतृत्वदायी अस्पतालका रूपमा विकास गर्न सरकार लागिपरेको बताए । यस अस्पतालमा आवश्यक पूर्वाधार निर्माण गरी सेवा थप गर्दै लैजाने गरी काम अगाडि बढेको उनको भनाइ छ ।
स्वास्थ्य मानवको जीवनसँग जोडिएको विषय भएकाले स्वास्थ्य क्षेत्रमा जनशक्ति थप गर्दै गुणस्तर वृद्धिमा प्रदेश सरकारले जोड दिएको उनले बताए । उनले प्रदेशमातहतका अस्पतालको अहिलेको अवस्थाबारे अध्ययन गरेर प्राविधिक जनशक्ति, पूर्वाधार र उपकरणको क्षेत्रमा काम गर्ने तयारीमा जुटेको धारणा राखे । मन्त्री खनालले हाल प्रदेशमातहतका अस्पतालमा एक सय पाँचजना विशेषज्ञ डाक्टरको कमी रहेकाले तत्कालका लागि करारमा राखेर भएपनि सेवा दिन खोजिएको बताए ।
कार्यक्रममा बाेल्दै स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर जनार्दन पन्थीले स्वास्थ्य क्षेत्रमा एकीकृत विकास आवश्यक रहेको भन्दै प्रादेशिक अस्पतालको विकास र विस्तारका लागि मन्त्रालयबाट पहल जारी राखेको बताए ।
यसैगरी, लुम्बिनी प्रदेशका पूर्वसामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य क्षेत्रको सुधारका लागि धेरै काम गर्न आवश्यक रहेको भन्दै यसका लागि अझै अस्पतालले विकास गर्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, अस्पताल विकास समितिका पूर्वअध्यक्ष बाबुराम भट्टराई, पूर्वमेसु डाक्टर कृष्ण खनाल, मानव अधिकार तथा शान्ति समाजका पूर्वकेन्द्रीय सभापति गोविन्द खनाल, अस्पताल नर्सिङ प्रमुख ज्योति पौडेल, प्रशासन प्रमुख राजन केसीलगायतले अस्पताल तथा स्वास्थ्य क्षेत्रका बारेमा चर्चा गरेका थिए ।
क्याथ ल्याबको उद्घाटन
मंगलबार नै अस्पतालमा क्याथ ल्याब सेवाको उद्घाटन गरिएको छ । मन्त्री खनालले क्याथ ल्याबको उद्घाटन गरेका हुन् । क्याथ ल्याब सेवा सुरु भएसँगै मुटुरोगीहरूका लागि उपचार सेवा केही सहज हुने अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा. सुदर्शन थापाले अस्पतालले चालू आर्थिक वर्षमा मात्रै करिब डेढ दर्जनभन्दा बढी सेवा विस्तार गरेको जानकारी दिए । उनले १५ बेड क्षमताको एसएनसियू स्थापना, ६ बेड क्षमताको पिआइसियू स्थापना, आठ बेडको एनआइसियूलाई १२ बेडमा विस्तार, बर्थिङ सेन्टर स्थापना, क्याथ ल्याब सञ्चालन, इन्टेरेस्कोप सञ्चालन, बालउद्यान स्थापनालगायतका काम भएको बताए । यसैगरी, निकट भविष्यमै अनलाइन टिकटको समेत व्यवस्था गरिने उनको भनाइ थियो ।
तत्कालीन राणा प्रधानमन्त्री श्री ३ चन्द्रशमशेर जबराको पालामा वि.सं. १९६७ फागुन १५ गते सेनवंशी राजा मणिमुकुन्द सेनको दरबार (हालको पारि बुटवल फूलबारीपार्क) मा दुईजना भारतीय चिकित्सक र ६ शय्याबाट लुम्बिनी प्रादेशिक अस्पतालको सुरुवात भएको थियो । वि.सं. १९९८ सालमा रक्त सञ्चारगृह रहेको स्थान हुँदै बुटवल उपमहानगरपालिका वडा नं. ६ हाल अस्पताल रहेको स्थानमा स्थापना भई यस अस्पतालले स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ ।
अस्पतालले ११४औँ वार्षिकोत्सवको अवसरमा विभिन्न अतिरिक्त क्रियाकलापसमेत आयोजना गरेको थियो । अस्पताल परिवारबीच आयोजना गरिएका प्रतियोगिताहरू फुटबल, भलिबल, क्रिकेट, म्याराथन, कवितावाचन तथा रक्तदान कार्यक्रममा सहभागीहरूलाई मूल समारोहमा सम्मान तथा पुरस्कार वितरण गरिएको थियो ।


खबर सबै
-
स्कुटर दुर्घटना हुदाँ वाणगंगा ९ कि निशा सहित २ जनाको मृत्यु, १ घाइते
-
३७ पटक मुद्दा खेपिसकेका सन्तोष फेरि चोरी आरोपमा पक्राउ
-
मोतिपुर र नौवस्ता औद्योगिक क्षेत्रको जग्गा मिचेर बनाइएका बस्ती र संरचना हटाउन पत्राचार
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
तेल उत्पादक राष्ट्रहरूको संगठनबाट बाहिरियो यूएई
-
नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ
-
रुपन्देहीमा विशेष स्वीप अप्रेसनबाट १८६ जना पक्राउ
-
‘भीआईपी’ ले विदेशमा गरेको उपचार खर्च राज्यबाट नपाउने, सर्वोच्चले गरिदियो खारेज
-
सशस्त्र प्रहरीकाे आईजीमा नारायणदत्त पौडेल नियुक्त
-
त्रिवि क्रिकेट मैदानको संरचना भत्किदैन : मन्त्री पोखरेल











प्रतिक्रिया