राष्ट्रियसभा सदस्य: लुम्बिनी प्रदेशमा दुई पदका लागि उम्मेदवारी दर्ता गरिँदै

दाङ : राष्ट्रियसभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता हुँदैछ। लुम्बिनी प्रदेशमा पनि दुई पदका लागि उम्मेदवारी दर्ता गरिँदैछ।

राजनीतिक दलहरूले उम्मेदवार छनौट गरेर उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन्। अहिलेसम्म नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलले उम्मेदवारको टुंगो लगाएका छन्।

प्रमुख राजनीतिक दल नेपाली कांग्रेसले आन्तरिक रूपमा छलफल गरिरहेकाले अझै टुंगो लगाउन बाँकी देखिएको छ। पार्टीभित्र आन्तरिक छलफल भइरहे पनि उम्मेदवारको अझै टुंगो नलागेको हो।

एमालेले दुई सिटका लागि हुने निर्वाचनमा महिलाबाट दाङकी तुलसाकुमारी केसी र अन्यमा पाल्पाका झपेन्द्रबहादुर घर्तीलाई उम्मेदवार बनाएको छ। घर्ती एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य हुन्। उनी पूर्व पाल्पाको जिल्ला विकास समितिको सभापति पनि भएका थिए।

केसी अनेमसंघ केन्द्रीय सदस्य तथा एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य हुन्। एमाले दाङका नेता हुकुम बस्नेतले पार्टीमा लामो समयदेखि काम गर्दै आएकी केसीलाई अगाडि सारेको जानकारी दिए।

घर्ती र केसीसहित ६ जनाको नाम केन्द्रमा सिफारिश भएकाे थियो। नेकपा माओवादी केन्द्रले लुम्बिनीबाट लुम्बिनीबाट झक्कु सुवेदीलाई उम्मेदवार बनाउने भएको छ। सुवेदी २०६४ सालको संविधानसभा चुनावमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई काठमाडौं २ बाट पराजित गरेर चर्चामा आएका थिए।

एमालेका कुमार दसौंदी र नेपाली कांग्रेसकी अनिता देवकोटाको कार्यकाल सकिन लागेकाले आगामी माघ ११ गते नयाँ सदस्य छान्नका लागि प्रतिस्पर्धा हुन लागेको हो। प्रदेश मुकाममा स्थापना गरिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन पत्र दर्ता बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म हुनेछ।

यस निर्वाचनमा प्रदेशसभा सदस्य र गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुने कानुनी व्यवस्था छ। उम्मेदवारीउपर यही पुस २४ गते दाबी विरोध र उजुरी, २५ र २६ गते जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।

उम्मेदवारलाई निर्वाचन चिह्न भने पुस २८ गते उपलब्ध गराउने कार्यक्रम छ। निर्वाचनमा मतदानका लागि मुलुकका सात प्रदेशमा एक–एक मतदानस्थल र दुई–दुई वटा मतदान केन्द्र कायम गरिएको छ। मतदान भने माघ ११ गते विहान ९ बजेदेखि दिउँसो तीन बजेसम्म हुनेछ।

प्रतिक्रिया

खबर सबै