कपिलवस्तुका ईदगाहमा बकर ईदको रौनक

कपिलवस्तु ।  कपिलवस्तुको तौलिहवा स्थित बसपार्क छेवैमा रहेको ईदगाहमा आज बिहानै देखि मुस्लिम धर्मावलम्बि मानिसहरुको अरुबेल भन्दा बढी चहलपहल थियो । किन कि आज उनीहरुले मनाउने दोस्रो ठूलो पर्व ईद उल अजाहा बकर ईद थियो ।

मुस्लिम समुदायका मानिसहरु यो पर्व धुमधाममका साथ हरेक वर्ष मनाउने गर्दछन् । अघिल्ला दुई वर्ष कोरोना जोखिमका कारण सामान्य किसिमले मनाएका उनहरुले यस पटक निर्धक्क पर्वमा खुसी साट्न पाएका छन् । अझ त्यसैमा कपिलवस्तुका जनप्रतिनिधिहरु प्नि ईदगाहमै पुगेर धर्मावलम्बिहरुलाई शुभकामना दिए । जनप्रतिनिधिहरुले ईदगाहा स्थलमै पुगेर शुभकामना आदानप्रदान गर्दा मुस्मिल अगुवा देखि नागरिकहरु पनि खुसी देखिन्थे ।

स्थानीय तहको निर्वाचन सम्पन्न भई प्रतिनिधि र प्रदेश सभाको निर्वाचनको मिति घोषणा हुने चर्चा चलेका बेला जनप्रतिनिधिहरु कपिलवस्तु नगरपालिका वडा नम्बर १ बस पार्कको छेउमा रहेको ईदगाहा स्थलमा पुगेर शुभकामना साटासाट गरेका हुन्। प्रतिनिधिसभाका सदस्य बुजेश कुमार गुप्ता, लुम्बिनी प्रदेश सभा सदस्य धरम बहादुरलाल श्रीवास्तव, कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेल, वडा नम्बर २ का अध्यक्ष अशोक गुप्ता, कार्यपालिका सदस्य गंगेश बर्मा लगायतका टोलीले शुभकामना साटासाट गरेका थिए। ईदगाहास्थलमा सामुहिक नवाज पढे पछि त्यहा बाट घर तर्फ बाहिरिदा जनप्रतिनिधिहरुले मुस्लिम धर्मावलम्बीसँग हात मिलाई अंकमाल गरेर शुभकामना पनि दिएका थिए।

जनप्रतिनिधिहरु ईदगाहा स्थलमा पुगेर शुभकामना दिएकोमा मुस्लिम समुदायहरु खुशी भएका थिए। मुस्लिम अगुवा खुर्सेद अहमद खाँले जनप्रतिनिधिहरु यसरी आएर आफूहरुलाई शुभकामना दिदा खुसी लागेको बताए। ‘हाम्रो दोश्रो प्रमुख चाडमा यसरी ईदगाहा स्थल मै आएर शुभकामना दिनु निकै सराहनीय काम हो’ उनले भने ‘हाम्रो धर्म संस्कृति परंम्परालाई सम्मान गरेकोमा हामी खुसी छौं’ उनले भने। उनले यसलाई जनप्रतिनिधि र राजनीतिक दलका नेताले केवल भोट तान्ने माध्यम मात्र बनाउन भने नहुने बताए।

अर्का मुस्लिम अगुवा रउफ अहमद खाले ईदगाहा स्थल मै जन प्रतिनिधिहरु पुग्दा आफूहरुका मन प्रशन्न भएको बताए। ‘जनप्रतिनिधिहरुले हाम्रो धर्मप्रति सदभाव राख्दै ईदगाहा स्थल मै पुग्न आफैमा राम्रो काम हो’ उनले भने ‘जन प्रतिनिधिले हाम्रो हक अधिकार स्थापना गर्न समेत पहल गर्नु पर्छ’ उनले भने। सांसद बृजेश कुमार गुप्ताले मुस्लिम समुदायको दोश्रो ठूलो चाडमा आफूहरु पनि सरिक हुन् ईदगाहा स्थल पुगेको बताए। कपिलवस्तुमा ठुलो संख्यामा मुस्लिम समुदायको बसोबास छ।

जनसंख्याको हिसाबले पनि जिल्लामा बढी रहेको मुस्लिम समुदायको धर्म संस्कृतिको सम्मान गर्नु आफुहरुको कतव्य रहेको उनले बताए। प्रत्यक्ष भेटेर शुभकामना साटासाट गर्न पाउदा खुसी लागको उनले बताए। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले बक्राईदमा प्रत्यक्ष भेटेर शुभकामना दिन आफू ईदगाहामा पुगेको बताए। ‘हात मिलाएर अंकमाल गरी शुभकामना दिन पाउदा खुसी लागेको छ,’ उनले भने। उनले मुस्लिम समुदायको हक अधिकार स्थापना र विकासमा आफूले सक्दो पहल गर्ने बताए।

प्रतिक्रिया

खबर सबै