कपिलवस्तुमा एक थरीको इन्ट्री हुँदा अर्का थरीको विरासत गुम्यो

राजेन्द्र खनाल, कपिलवस्तु ।
निर्वाचनमा हारजित सुनिश्चित सवाल हो । तर हार्छु भनेर कोही पनि मैदानमा आउँदैन । जो मैदानमा आउँछ, जित्ने आधार देखेरै आउँछ र जित्नकै लागि जोड बल गर्छ र पनि हार जीतको संभावना आधा आधा नै हुन्छ । यसो त हार व्यहोर्नु भनेको यात्रा नै सकिनु र जीत हासिल गर्नु भनेको सर्वश्रेष्ठ नै हुनु पनि होइन । तर लोकतान्त्रिक पद्धती अन्र्तगत निर्वाचनमा हार जित स्वभाविक हो । निर्वाचनमा होमिएपछि एउटै पदमा सबैले जित्दैनन् । यो प्रक्रियामा एकले हार्ने र अर्कोले जित्ने हुन्छ ।
अहिले देशभरका पालिकाहरुमा यहि भएको छ । स्थानीय तह निर्वाचन २०७९ को लागि भएको बैशाख ३० को मतदानको नतिजा अहिले धमाधम सार्वजनिक भइरहेको छ । यो नजिता अनुसार हरेक पालिका र वडाहरुमा कुनै एक पदका लागि एक उम्मेद्धार मात्रै विजयी भएका छन् । तर त्यही पदमा पराजय भोग्नेहरु भने धेरै छन् ।
कुनै पालिकामा मतगणना सुरु भएसँगै सुरुवाती अग्रता कायम राखेका उम्मेद्धार र दलहरु मतपरिणाम सार्वजनिक गर्ने क्रममा आउँदा भने पराजित भएका छन् । कतै अप्रत्यासित नतिजाहरु आएका छन् । निर्वाचनमा जनताको जनमत कता र सकका पक्षमा जान्छ भन्ने कुरा गोप्य मतदानको प्रणालीमा कसैले अनुमान गर्न सक्दैनन् । नतिजा कसको पक्षमा गयो भन्ने तब मात्रै थाहा हुन्छ जब मतगणनाको अन्तिम चरण आइपुग्छ ।
देशका अधिकाशं पालिकाहरुमा यसपटकको निर्वाचनमा यस्तै भएको छ ।

बाणगंगामा कांग्रेसले गुमायो मेयर पद

कपिलवस्तुको बाणगंगा नगरपालिकाको मतगणनाको क्रमलाई हेर्दा सुरुवाती अग्रता लिएका नेपाली कांग्रेसका उम्मेद्धारहरु मेयर र उप मेयर दुबै पदमा अन्त्यतिरको मतगणना हुँदा पराजित हुन पुगेका छन् । बाणगंगामा वडा नम्बर १–११, २–१०, र ३ –९ को मत गणना सकिदा नेपाली कांग्रेसका मेयर र उपमेयर पदका उम्मेद्धार नेकपा एमालेका उम्मेद्धार भन्दा अगाडी थिए । तर त्यस पछिका अन्य चार वटा वडाको मतगणना बाणगंगा नगरपालिकाको नेतृत्व चयनमा फरक बन्न पुग्यो र अन्ततः नेकपा एमालेबाट मेयर पदमा निवर्तमान उपमेयर समेत रहेका चक्रपाणी अर्याल निर्वाचित भए भने उप मेयरमा पनि नेकपा एमालेबाटै रिता थारु निर्वाचित भइन् ।
लगातार ६ दिनको मतगणना पश्चात सार्वजनिक भएको मतपरिणाम अन्तर्गत नगर प्रमुखमा नेकपा ९एमाले०का उम्मेद्वार चक्र अर्यालले ६ सय ३९ मतान्तरका साथ अर्यालले नेपाली कांग्रेसका उम्मेद्वार रविराज आचार्यलाई पराजित गरेका हुन् । विजयी अर्यालले १८ हजार ९ सय ९९ मत प्राप्त गरे भने, पराजित आचार्यले १८ हजार ३ सय ६० मत पाएर निकटतम प्रतिद्धिन्द्धीका रुपमा आए ।
नगर उपप्रमुखमा नेकपा (एमाले) की रिता थारु ९ सय ३४ मतान्तरले आफ्नो निकटतम प्रतिद्धन्द्धी तारावती चौधरीलाई पराजित गरिन् । विजयी थारुले १९ हजार ३९९ मत पाउँदा चौधरीले १८ हजार ४६४ मत पाइन् ।

कपिलवस्तुमा कांग्रेसलाई पाखा लगाउँदै जसपाको आगमन

यस्तै कपिलवस्तुको कपिलवस्तु नगरपालिकाको मयेर पदमा निवर्तमान मेयर समेत रहेका नेपाली कांग्रेसका उम्मेद्धार किरण सिँहलाई सुरुवाती चरणको मतगणनाबाटै पछाडि पार्दै यसपटक जनता समाजवादी पार्टीका सुदिप पौडेल बिजयी हुन पुगे । कपिलवस्तुको बाणगंगामा यस अघि नेपाली कांग्रेसले मेयरमा जित हात पारेको थियो तर यसपटक जनमत नेकपा एमालेले पाएको छ । उता कपिलवस्तु नगरपालिकामा पनि यस अघि नेपाली कांग्रेसले जित हात पारेको पदमा यसपटक जनता समाजवादी पार्टीका उम्मेद्धार बिजयी भए । यस्तै कपिलवस्तु नगरपालिकाका नव निर्वाचित मेयर सुदिप पौडेलले मेयर पदको प्रमाण पत्र ग्रहण गरेका छन् ।
निर्वाचन प्रचार प्रसार र घरदैलो अभियानमा दल र उम्मेद्धारका पछि पछि हजारौँ मानिसहरुको लर्को लागे पनि निर्वाचनको नतिजा फरक आउन सक्छ भन्ने तथ्य पनि निर्वाचनले दिने गर्छ । राजनितिक दलका उम्मेद्धारका हिजो र आजका गतिविधि र उम्मेद्धारका चुनावी एजेण्डालाई राम्रो सँग अध्ययन गर्दै जनताले मतदान गर्ने परिपाटी समेत विकास भएको छ ।

कसैलाई थामिनसक्नु मत, कसैलाई आफ्नो मात्रै

कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न पदमा उम्मेद्धारले पाएको मत परिणमलाई हेर्दा उम्मेद्धार आफैले मात्र मत हालेका पनि भेटिएका छन् । तर उनका लागी अरु कसैले पनि दोस्रो मत नदिएको समेत पाइएको छ । पार्टीको साख जोगाउनकै लागि मात्र उम्मेद्धारी दिएका साना दलहरु जित्नका लागि नभई दलको उपस्थित देखाउनका लागि मात्रै पनि उम्मेद्धारी दिएको जस्तो मतपरिणाम देखिएको छ । यस्तै यसपटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्धारी दिनेहरु समेत धेरै देखिएका छन् । दल भित्र असन्तुष्टि पोख्दै निर्वाचनमा अन्य दलबाट उम्मेद्धारी दिनेहरु पनि रहे । तर जनताको जनमत भने कपिलवस्तुमा ठूला राजनितिक दलका उम्मेद्धार तर्फ मात्रै केन्द्रित रहयो । बाणगंगा नगरपालिकामा सम्पन्न मतगणनको परिणाम अन्र्तगत नेकाप एमालेले सबैभन्दा धेरै पदमा जित हात पारेको छ । एमालेले बाणगंगा नगरपालिकामा मेयर र उपमेयर सहित ६ वटा वडामा जित हासिल गरेको छ । यस्तै नेपाली कांग्रेस यसपटक मेयर पद गुमाउन पुग्यो भने केही वडा पनि गुमाउदै चार वटा वडामा समिति रहयो । यस अघि एउटा वडामा आफ्नो उपस्थिति देखाएको माओवादी केन्द्रले चार दलीय गठबन्धनको मतका आधारमा एउटा वडा सुरक्षित गरेको छ । कुल ६१ हजार मतदाता रहेको बाणगंगामा यसपटक जम्मा ४६ हजार १ सय ४७ मत खसेको मुख्य निर्वाचन अधिकृत टेकराज अर्यालले जानकारी दिए ।

यशोधरामा एमालेको इन्ट्री

कपिलवस्तुको यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेकपा एमालेले जितेको छ । अध्यक्षमा शिवदयाल तिवारी र उपाध्यक्षमा गुन्जादेवी मौर्या निर्वाचित भएका हुन् ।
तिवारीले ४ हजार ४ सय ६२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अनुपकुमार पाण्डेयले ३ हजार २ सय मत प्राप्त गरे । उपाध्यक्षमा निर्वाचित मौर्याले ४ हजार ४५ मत ल्याइन् भने निकटतम प्रतिस्पर्धी कांग्रेसकी बिन्द्रावती यादवले ३ हजार २३७ मत प्राप्त गरिन् ।
यशोधरा गाउँपालिकामा एमालेले अध्यक्ष र उपाध्यक्ष सहित तीनवटा वडा जितेको छ । ८ वटा वडा रहेको गाउँपालिकामा कांग्रेसले दुई, जनता समाजवादीले एक, जनमत पार्टीले एक र स्वतन्त्र उम्मेदवारले एक वडाध्यक्ष जितेका छन् । गएको ०७४ सालको चुनावमा यो पालिकामा एक जना पनि सदस्य एमालेले जित्न सकेको थिएन् । यसपटक वडा अध्यक्ष पदमा समेत एमाले उम्मेद्धार विजयी भएका छन् ।


मायादेवीमा जसपालाई पाखा लगाउँदै कांग्रेसको आगमन
कपिलवस्तुको मायादेवी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् । पालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वलिउद्दिन मुसलमान र उपाध्यक्षमा कांग्रेसकै सरस्वती यादव विजयी भएकी हुन् ।
विहीबार दिउँसो पालिकाको सार्वजनिक अन्तिम मतपरिणामा मुसलमानले जसपा, नेपालका बजरंगी कुर्मीलाई पराजित गरे । कुर्मी निवर्तमान पालिका अध्यक्ष हुन् । यस्तै पालिकाको उपाध्यक्षमा जसपाकै उम्मेद्वारलाई हराउँदै यादव विजयी भएकी हुन् । यस अघि जनता समाजवादी पार्टी निर्वाचन जितेको मायादेवी पालिकामा यस पटक नेपाली कांग्रेसको इन्ट्री भएको छ । जनताको जनमत यसपटक मायादेवी गाउँपालिकामा पनि परिवर्तन भएको पाइएको छ ।
यसैबिच यता जिल्ला बुद्धभूमि नगरपालिका वडा नं। ३ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार विकास आचार्य विजयी भएका हुन् । उनी यसअघि पनि वडाध्यक्षमा बिजयी भएका थिए ।

शिवराजमा राप्रपा उदायो

कपिलवस्तुको शिवराज नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मेयर पदमा जित हात पारेको छ । राप्रपाका अजय थापाले शिवराजको मेयरमा जितेका हुन् ।

११ वटा वडा रहेको शिवराजमा सुरुवात देखि अग्रता बढाउँदै गएका थापा विहीबार अन्तिम मतपरिणाम आउँदासम्म अग्रस्थानमै रहे । युवा नेता समेत रहेका थापाले मेयर जित्दा एमालेका महादेव पोख्रेल पराजित भएका छन् ।

गएको निर्वाचनमा शिवराजको मेयर र उपमेयर एमालेले जितेको थियो । ०७४ सालको स्थानीय तहको निर्वाचन थापा स्वयम राप्रपाबाट उम्मेद्वार थिए । मेयरमा पराजित थापा मंसीरमा सम्पन्न संघीय र प्रदेशको चुनावमा नेपाली कांग्रेस प्रवेश गर्दै प्रदेशसभामा चुनाव लडेका थिए । त्यहाँ पनि पराजित भएका थापा मनोनयन दर्ताको अघिल्लो दिनसम्म कांग्रेसमा सक्रिय थिए ।

पार्टीले मेयरमा टिकट नदिए पछि पार्टीबाट विद्रोह गर्दै राप्रपा लागेका थापा अन्ततः मेयरमा निर्वाचित भए । शिवराजमा कांग्रेसका मेयरका उम्मेद्वार हुमकान्त खनाल तेस्रो स्थानमा सिमित रहे ।

नगरको उपमेयरमा भने शिवकुमारी थारु निर्वाचित भएकी छिन् । निवर्तमान थारु आफ्नो प्रतिस्पर्धीलाई पछि पार्दै उपमेयरमा निर्वाचित भएकी हुन् ।

प्रतिक्रिया

खबर सबै