आज ७५३ वटै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै कांग्रेस

काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज शनिबार देशका सबै स्थानीय तहमा विरोध प्रदर्शन गर्दै छ।

संसद् विघटन गराउने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमको विरोधमा कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा प्रदर्शन गर्ने भएको हो।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबारै विज्ञप्ति जारी गरी विरोध प्रदर्शनमा सहभागी हुन सबैलाई अपिल गरिसकेका छन्।

विरोधमा सहभागी भएर प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध ऐक्यबद्धता प्रकट गर्न उनले आह्वान गरेका छन्।

‘संसद विघटनको कार्यलाई हामीले असंवैधानिक र अलोकतान्त्रिक ठहर गरेका छौं। संविधानमा भएको ब्यवस्था प्रतिकूल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस एकमतका साथ उभिएको छ,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘पार्टीका सबै तहका साथीहरूसँगै समस्त लोकतन्त्रवादीमा विरोध प्रदर्शनमा व्यापक सहभागी भएर असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध ऐक्यबद्धता प्रकट गर्न अपिल गर्दछु।’

यसअघि कांग्रेसले गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरिसकेको छ।

प्रतिक्रिया

खबर सबै