भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न

कपिलवस्तु : भलवाड सिकाई केन्द्रको १४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। केन्द्रले सामाजिक उत्तरदायित्वसँगै शिक्षा, सचेतना तथा विद्यालयस्तरीय विभिन्न कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाएको छ।

साधारण सभामा केन्द्रका कोषाध्यक्ष नेत्र खनालले आर्थिक वर्ष २०८२/८३ को ५ लाख ८७ हजार ८ सय ९ रुपैयाँको आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

त्यस्तै, केन्द्रका अध्यक्ष दीपक कुमार कुँवरले आर्थिक वर्ष २०८३/८४ का लागि ५ लाख ४० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका थिए।

केन्द्रले आगामी दिनमा सामाजिक कार्यलाई निरन्तरता दिँदै विद्यालयस्तरीय कार्यक्रम, लागुऔषध रोकथाम तथा न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमलगायत विभिन्न गतिविधि सञ्चालन गर्ने जनाएको छ। सामाजिक क्षेत्रमा केन्द्रको भूमिकालाई थप प्रभावकारी बनाउँदै समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने उद्देश्य रहेको अध्यक्ष कुँवरले बताए।

कार्यक्रमका प्रमुख अतिथि तथा वाणगंगा नगरपालिका–९ का वडाध्यक्षले केन्द्रले समुदायमा गर्दै आएका सामाजिक तथा शैक्षिक गतिविधिको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

उनले देशमा परेको पछिल्लो विपत्तिप्रति संवेदनशील बन्न आग्रह गर्दै नजिकिँदै गरेको तीज पर्वलाई यस वर्ष भड्किलो तथा रमाइलो कार्यक्रम नगरी साधारण र संयमित रूपमा मनाउन वडावासीलाई अनुरोध गरे। विपत्तिमा परेका नागरिकको पीडा महसुस गर्दै तीज मनाउनुपर्नेमा उनले जोड दिए।

केन्द्रका अध्यक्ष दीपक कुमार कुँवरको अध्यक्षता तथा सहजकर्ता राधा अधिकारीको सञ्चालनमा साधारण सभा सम्पन्न भएको थियो।

प्रतिक्रिया

खबर सबै