

सुपादेउरालीको भेटी सामाजिक कार्यमा


सन्धिखर्क नगरपालिका–७ स्थित प्रसिद्ध सुपादेउराली मन्दिरमा भक्तजनबाट सङ्कलन हुने भेटीको रकम शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा सामाजिक सेवाका क्षेत्रमा खर्च गर्न थालिएको छ । मन्दिर व्यवस्थापन समितिका अनुसार सन्धिखर्क र शीतगङ्गा नगरपालिकाका केही विद्यालयको सञ्चालन तथा शैक्षिक गतिविधिका लागि नियमित आर्थिक सहयोग हुँदै आएको छ ।
समितिका अध्यक्ष गणेश थापाले आदर्श माध्यमिक विद्यालय खाँचीकोट, सीता आधारभूत विद्यालय, शान्ति आधारभूत विद्यालय र देउराली आधारभूत विद्यालयलाई मन्दिरबाट आर्थिक सहयोग उपलब्ध गराइँदै आएको बताउनुभयो । उहाँका अनुसार विद्यालय तथा शिक्षा क्षेत्रमा मात्रै मासिक दुई लाख रुपियाँभन्दा बढी सहयोग हुँदै आएको छ । स्थानीय विद्यालय सञ्चालनमा मन्दिरको आम्दानीबाट सहयोग हुन थालेपछि खाँचीकोट र सीतापुर क्षेत्रका बासिन्दालाई सहज भएको छ । मन्दिरको आम्दानीबाट सन्धिखर्कमा सञ्चालित गौशाला, वेद विद्याश्रम तथा सिद्धेश्वरलगायत मठमन्दिरलाई समेत सहयोग गरिएको समितिले जनाएको छ । गाउँमा विद्युतीकरण, शौचालय तथा सडक निर्माण, विपत् र अन्य समस्यामा परेका समुदायलाई सहयोगलगायतका काममा पनि भेटीको रकम खर्च हुँदै आएको छ ।
सुपादेउराली मन्दिरमा वार्षिक एक करोड रुपियाँभन्दा बढी भेटी सङ्कलन हुने समितिको भनाइ छ । सङ्कलित रकमबाट पुजारी तथा कर्मचारीको पारिश्रमिक, पूजाका सामग्री, विद्यालयका शिक्षकको तलब र मन्दिरको विकास तथा व्यवस्थापनमा खर्च गरिन्छ । खर्च कटाएर बाँकी रकम बैङ्कमा बचत गर्ने गरिएको समितिले जनाएको छ ।
महाभारत पर्वत शृङ्खलाको पहाडी खोचमा अवस्थित सुपादेउराली धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा समेत परिचित छ । गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डको करिब ४३ किलोमिटर दुरीमा रहेको मन्दिर सन्धिखर्क नगरपालिका–७ र शीतगङ्गा नगरपालिका–२ को सीमामा पर्छ ।








प्रतिक्रिया