‘जेनेरेसन जेड’ का युवाहरूले माइतीघरमा विरोध कार्यक्रम गर्ने, के हो जेन जेड ?

काठमाडौं । भोलि भदौ २३ मा थापाथलीस्थित माइतीघरमा अलिकति फरक खालको आन्दोलन देखिँदैछ । ‘जेनेरेसन जेड’ भनेर चिनिने नयाँ पुस्ताले भोलि बिहानैदेखि माइतीघरमा विरोध कार्यक्रम गर्ने भएका छन् ।

सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय गरेपछि भर्चुअल दुनियाँमा रमाइरहेका उनीहरूले भौतिकरूपमै आन्दोलन गर्न लागेका हुन् । नेपाल सरकारले केही दिनअघि सामाजिक सञ्जाल सञ्चालन निर्देशिका २०८० अनुरूप सूचीकरण नभएका फेसबुक लगायत सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउने निर्णय गरेपछि युवाहरूको ठूलो जमात रुष्ट छ ।

सोसल मिडिया इन्फ्लुएन्सर, क्रियटरदेखि सामाजिक सञ्जालमै आफ्नो करिअर बनाइरहेकाहरू छट्पटिएका छन् । यसैको परिणति हो, भोलि माइतीघरमा हुन लागेको आन्दोलन ।

भोलि जेनेरेसन जेडहरूले गर्ने आन्दोलनमा मुलभूत रूपमा तीनवटा मुद्दालाई टड्कारो रूपमा उठाइँदैछ । माइतीघरमा आन्दोलन गर्नुपर्छ भनेर रेडिक्टमा अभियान चलाउने सदस्यहरूमध्ये एक आदित्य मिश्रका अनुसार यो आन्दोलनले मूलभुत रूपमा तीनवटा मागलाई अगाडि सार्दैछ ।

पहिलो, सरकारले निष्क्रिय बनाएको सामाजिक सञ्जाल बिनासर्त पुनः सक्रिय बनाउनुपर्ने । दोस्रो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा राजनीतिक नियुक्ति होइन, निष्पक्षरूपमा आयुक्त नियुक्त गर्नुपर्ने । तेस्रो, बुढा नेताहरूले पुनः प्रधानमन्त्री नबन्ने प्रतिबद्धता जनाउनुपर्ने ।

यसरी तयार भयो आन्दोलनको भ्रूण
अहिलेको पुस्ता प्रविधिमा अब्बल छ । एआई प्रयोगमा पनि यो पुस्ता अभ्यस्त छ । आफ्नो यही खुबी प्रयोग गरेर उनीहरू सामाजिक सञ्जालमा करिअर बनाइरहेका छन् । कोही आईटी विज्ञको रूपमा काम गरिरहेका छन् त कोही ‘ह्वाइट ह्याट’ (कानूनको अधीनमा रहेर काम गर्ने ह्याकरहरू) बनेर नेपालबाटै लाखौं कमाइरहेका छन् । फेसबुक, इन्स्टा, एक्सजस्ता सामाजिक सञ्जालको लुपहोलहरू पत्ता लगाएर उक्त कम्पनीलाई जानकारी दिएर लाखौं रूपैयाँ रिवार्ड लिने पुस्ता हो यो ।

यो अभियानमा सक्रियरूपमा लागेका अर्का सदस्य अभिजीत अधिकारीका अनुसार सरकारको निर्णयपछि उनीहरू रेडिक्ट, डिस्कोर्ड, जुम, भाइबरजस्ता सामाजिक सञ्जालमा सक्रिय हुन थाले । त्यहाँ आफ्ना असन्तुष्टिहरू पोख्न थाले । परिणामतः एउटा समूह जन्मियो, आर सोसल । त्यो समूहमा आदित्य, अभिजितजस्ता हजारौं युवाहरू जोडिए ।

‘सरकारले फेसबुक, इन्स्टाजस्ता एपहरू निष्क्रिय पार्‍यो । सरकारको निर्णयले हामीलाई जेन जेडलाई आक्रोशित बनायो,’ अभीजितले भने, ‘त्यसपछि रेडिक्टमा सबैभन्दा पहिला यो मुद्दा उठ्यो । विस्तारै डिडस्कोर्ड, जुमतिर फैलियो । सरकारले नै थाहा नपाएको एपहरूमार्फत् हामी संगठित बन्यौं ।’

जुनसुकै राजनीतिक दलका युवाहरूलाई स्वागत
यो आन्दोलन सम्पूर्ण युवाहरूको भविष्यका लागि भएकाले यहाँ जो पनि सहभागी हुन सक्ने आदित्यले बताए । उनले भने, ‘यहाँ को आउने र को नआउने भन्ने छैन । यहाँ सत्तारुढ दल कांग्रेस र एमालेका असन्तुष्ट पक्षका युवाहरू आउन सक्नुहुन्छ । यहाँ राजावादी युवाहरू आउन सक्नुहुन्छ । तर, राजा चाहियो भन्ने आन्दोलन यहाँ हुँदैन ।’

त्यसो त आदित्य स्वयं पनि विवेकशील साझा युवा संगठनका केन्द्रीय सदस्य हुन् । सरकारले सामाजिक सञ्जाल निष्क्रिय पार्ने निर्णय गरेपछि आदित्यकै संयोजकत्वमा एक विज्ञप्ति जारी गर्दै विवेकशील साझा युवा संगठनले विरोध जनाएको थियो ।

तर, भोलिको आन्दोलनमा आयोजक यही संस्था हो वा नेतृत्व यसले नै गर्ने भनेर अहिलेसम्म नतोकिएको आदित्यले बताए । यहाँ आयोजक भनेकै सम्पूर्ण जेन जेड पुस्ता र नेतृत्व पनि सम्पूर्ण जेन जेडले नै गर्ने उनले बताए ।

अभीजितले थपे, ‘यो आन्दोलन कसैलाई नेता बनाउनलाई नै भएको होइन । यो त स्वतस्फूर्त रूपमा भएको हो । यहाँ मुख्य रूपमा हाम्रो माग मात्रै केन्द्रमा रहन्छ । त्यसैले हामीले संयोजकसमेत तोकेका छैनौं ।’

अहिले टिकटकमा नेताका छोराछोरी र आफन्तको विलासी जीवनशैलीलाई एक्सपोज गर्ने अभियान समेत चलिरहेको छ । इन्डोनेसियाबाट सुरू भएको यो अभियान अहिले नेपालमा आइपुगेको हो । हाइप्रोफाइल नेता र कर्मचारीहरूका सन्तानका विलासी जीवनशैली एक्सपोज गरिएका भिडिओहरू टिकटकमा भाइरल भइरहेका छन् ।

तर, भोलिको आन्दोलनमा यो अभियानको भने कुनै संलग्नता नभएको आदित्यले बताए । आफूहरूको माग तीनवटा भएकाले त्यही मागमा मात्रै केन्द्रित भइने उनको भनाइ छ ।

आन्दोलनमा सक्रिय अर्की सदस्य रक्षा बमले भनिन्, ‘यस आन्दोलनमा सबैखाले विचारधारा बोक्नुभएको मान्छेहरू आउन सक्नुहुन्छ । तर, आएर आन्दोलन बिथोल्न चाहिँ पाउनुहुन्न ।’

तर, आजै मात्रै मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफू पनि भोलिको आन्दोलनमा सहभागी हुने बताएपछि उनीहरू सशंकित बनेका छन् । प्रतिबन्धित फेसबुकमा स्टाटस लेख्दै प्रसाईंले आफू पनि आन्दोलनमा जाने घोषणा गरेका हुन् ।

तर, प्रसाईंलाई आफूहरूले कुनै निमन्त्रणा नदिइएको बमले बताइन् । यो विशुद्ध जेन जेडको आन्दोलन भएको उनको भनाइ छ । यदि प्रसाईं सहभागी हुन चाहेमा आउन दिने कि नदिने भन्नेबारे आफूहरू छलफलमा रहेको उनले बताइन् ।

जसले तोडफोड गर्छ, उसैको जिम्मा
भोलि बिहान नौ बजेबाट माइतीघरमा जेन जेड पुस्ता भेला हुँदैछन् । कताबाट जाने, कुन कुन रुट प्रयोग गर्ने विषयमा अहिलेसम्म निर्णय नभइसकेको अभीजितले बताए ।

आन्दोलन भने एकदमै शान्तिपूर्ण हुने उनले बताए । उनले थपे, ‘हाम्रो आन्दोलन नै पुलिसलाई फूल दिएर सुरू हुन्छ । त्यस्तो शान्तिपूर्ण आन्दोलन हिंसात्मक हुने कुरै आउँदैन ।’

यदि कसैले त्यस्तो गतिविधि गर्छ, तोडफोडमा उत्रन्छ भने त्यसको जिम्मा निज व्यक्ति स्वयंले लिनुपर्ने उनले बताए । त्यस्तो लफडाको जिम्मा आफूहरूले नलिने अभिजीतले बताए । रक्षा बमका अनुसार भोलिको कार्यक्रममा कसैले पनि सम्बोधन गर्ने छैनन् । कार्यक्रम विशुद्ध सृजनशील हुनेछ । बाँकी कार्यक्रमको रूपरेखा कस्तो बनाउने भनेर अहिलेसम्म तय नभइसकेको समेत उनले बताइन् । साँझसम्ममा त्यो पनि फाइनल हुने उनको भनाइ छ ।

के हो त जेन जेड ?
करिब सन् १९९७ देखि सन् २०१२ सम्ममा जन्मिएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ । विशेष गरेर यो पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई जेन जेड भनेर भन्ने गरेको पाइन्छ ।

समाजशास्त्रीय दृष्टिकोणले विभिन्न कालखण्डमा जन्मिएका पुस्ता, तीनको जीवनशैली, सोच्ने तरीका र दृष्टिकोणलाई बुझाउनलाई विभिन्न पुस्तामा वर्गीकरण गरिन्छ । त्यही अनुरूप पछिल्लो इन्टरनेट, स्मार्टफोन, युट्युब र विभिन्न सामाजिक सञ्जालहरूसँगै हुर्किएको पुस्तालाई जेन जेड वा जेन जी भनिन्छ ।

यो पुस्ता एआईसँग पनि उत्तिकै नजिक छ । वैश्विक ज्ञान आर्जन गर्नमा चासो राख्ने, उद्यमशीलताप्रति रुचि भएका र एआई टुल्सहरू राम्रोसँग प्रयोग गर्न सक्छन् ।

समाजशास्त्रीहरूले जेन जेड वा जेनजीअघि सन् १९८१ देखि सन् १९९७ सम्ममा जन्मिएकाहरूलाई जेन वाइ भनिदिएका छन् । यो पुस्ता विज्ञान र प्रविधिमा भइरहेको क्रान्ति सँगसँगै हुर्किएको थियो । जेन वाइअघि जेन एक्स भन्ने पुस्ता पनि छ । सन् १०६५ देखि सन् १९८० मा जन्मिएर हुर्किएका पुस्ताको दृष्टिकोण र जीवनशैलीलाई जेन एक्स भनिन्छ ।

सन् २०१३ देखि सन् २०२४ को दशकमा जन्मिएर स्मार्ट फोन, ट्याब्लेट, एआई, इन्टरनेट र युट्युब लगायत प्ल्याटफर्मसँगै खेल्दै हुर्किएका पुस्तालाई जेन अल्फा भनिन्छ । त्यस्तै सन् २०२५ देखि सन् २०३९ सम्म जन्मिएकाहरूको दृष्टिकोण र जीवनशैलीलाई जेन बिटा भनिनेछ ।

नेपाल प्रेसबाट साभार

प्रतिक्रिया

खबर सबै