बाणगंगामा सुरु भयो माघी पर्वको रौनक

राजेन्द्र खनाल, कपिलवस्तु ।
पुष सकिन केही दिन मात्रै बाकीँ रहँदा नेपालको तराईमा बसोबास गर्ने थारु जातीलाई माघी पर्वको रौनकले छोएको छ । कपिलवस्तुमा थारु समुदायहरुमा यतिबेला माघी पर्व मनाउनका लागि तामझाम र मेला महोत्सवको तयारी गरिएको छ भने थार परिवारका सदस्यहरु मिठामिठा परिकार पकाउन सामाग्री जोहो गर्न पनि लागेका छन् ।
थारू समुदायको नयाँ वर्ष २०७८ र महान पर्व माघी कपिलवस्तुका घर घरमा खानपिन सहित हर्सोउल्लासका साथ मनाउने चलन रहेको थारु अगुवाहरुले बताएका छन् ।
यसैबिच यता कपिलवस्तुको बाणगंगामा चौथो नगर स्तरीय माघी तथा नयाँ वर्ष विशेष कार्यक्रम आयोजना तयारी गरिउको थारु कल्याणकारीणी सभा बाणगंगाले जनाएको छ । सोमबार पत्रकार सम्मेलन गरी माघी मेलाबारे जानकारी दिइएको हो ।
केही दिन यता बढ्दै गरेको कोरोना संक्रमणको जोखिम र सरकारको निर्देशिकालाई हेरेर बाणगंगा नगर स्तरिय माघि खिचडि महोत्सव माघ २ देखि ३ दिन सम्म हुने थारु कल्याणकारीणी सभा नगर अध्यक्ष भग्गु प्रसाद थारुले बताउनुभयो ।
बाणगंगाको वडा नम्बर ९ स्थित कपिलधाममा आयोजनाको तयारी थालिएको माघी मेलाको बारेमा जानकारी दिन आयाजित पत्रकार सम्मेलनमा थारु कल्याणकारीणी सभा पूर्व केन्द्रीय सदस्य भोजराज थारुले माघी पर्व थारु जातीको एक विशिष्ट पर्व रहेको बताउनुभयो । उहाँले थारु जातीले सदियौँ देखि यो पर्व मनाउँदै आएको भए पनि पछिल्ला केही वर्ष यता थारु जातीका लोप हुन लागेका कला, संस्कृति र रहनसहनहरुको संरक्षणमा महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । उहाँले थारु समुदायमा माघ १ गते नयाँ वर्ष मनाउने र वर्षभरि भएका गतिविधिका समिक्षा गर्ने नयाँ अगुवा वड्घर तथा चौकिदार चुन्ने दिनका रुपमा पनी परिचित रहेको जानकारी दिनुभयो ।


यसैबिच यस पटक थारु कल्याणकारीणी सभा बाणगंगाले कपिलधाममा थारु कला, संस्कृति र रहनसहन सरक्षण र विकासका लागि थारु संग्रालय समेत बनाउने गरी काम गरिहेको जनाएको छ । कपिलधाममा जग्गा प्रबन्ध गरिएको र विस्तारै थारु जातीका सबै पक्षलाई समाविष्ट गरी संग्राहलयको रुपमा विकास गर्न खोजिएको नगर अध्यक्ष भग्गु प्रसाद थारुले जानकारी दिनुभयो ।
थारु समुदायमा प्रचलित झर्रा, झुमरा, सजहनी, बिरहनी नृत्यहरु सँगै थारु परिकार समेत माघीका मुख्य आकर्षण हुने गर्दछन् । यतिबेला थारु समुदायले आफ्नो घर आगँन सफा गर्ने, लिपपोत गरी चिटिक्क पार्ने र परिवारका सदस्यहरुका बिचमा थारु परिकारहरुका साथमा पर्वको शुभकामना साटासाट गर्ने गर्दछन् ।
कपिलधममा आयोजना हुने महोत्सवमा थारु जातीको कला संस्कृतिको प्रदर्शनी, थारु जतिको संस्कृति झल्किने झर्रा, झुमरा, मयुर नाच, लाठी नाच, थारुजातीको विभिन्न हस्तकलाको प्रदर्शन लगाएत थारु जातीको विभिन्न खानाका परिकारहरुको समेत प्रदर्शन गरिने पुर्व केन्द्रिय सदस्य भोजराज थारुले जानकारी दिनुभयो । त्यसैगरी राष्ट्रिय तथा स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

खबर सबै