विपन्न विद्यार्थीसँग साथी बन्दै मनको साथी प्रतिष्ठान

भलवाड ।

सामाजिक सेवा प्रदायक संस्था मनको साथि प्रतिष्ठान वाणगंगा कपिलवस्तुले विपन्न वर्गका विद्यार्थीहरुलाई झोला र कापि प्रदान गरेको छ ।

मंगलबार श्रीपञ्चमीको अवसरमा प्रतिष्ठानका अभियान्ता प्रेम पाण्डे र नवराज वेलवासे सहितको उपस्थितमा आज भर्तापुर आधारभुत विद्यालय र श्री राम आधारभुत बिधालयमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामग्री स्वरुप एक एक थान झोला कापी र पेन्सिल प्रदान गरिएको हो । वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित आधारभुत तहका सबै बिद्द्यालय हरुका बिपन्न तथा जेहेन्दार विद्यार्थीहरु छनौट गरेर प्रतिष्ठानले झोला तथा कापी पेन्सिल वितरण गरेको अभियान्ता प्रेम पाण्डेले जानकारी दिनुभयो ।

वाणगंगा नगरपालिका भित्र बसोबास गर्ने स्वदेशमै रहेका र हाल रोजगारीका शिलशिलामा वैदेशिक भुमिमा रहेका युवाहरुको संजालको रुपमा रहेको मनको साथी प्रतिष्ठानले सामाजिक सेवाका काममा अग्रसरता राख्ने गरेको छ । मनको साथी सबैको मनको साथी बन्ने उद्धेश्यका साथ विशेष गरी विपन्न वर्गको साथी बन्ने अभियान्ता पाण्डेले बताउनु भएको छ । यो अभियान मा कुबेतबाट बुद्ध रायमाझी र कतार बाट जजबी पाण्डे लगाएत दर्जनौंको सक्रियता रहेको छ। वैदेशिक रोजगारीमा पुगेका वाणगंगाका युवाहरुले आफ्नो खाजा खर्च बचाएर यो प्रतिष्ठानमा रकम सहयोग गरिरहेका छन् । उनीहरुकै रकमबाट सामाजिक सेवामूलक कामहरु भईरहेको छ ।

नितान्त समाज सेवाका लागि संचालित सामाजिक संस्था मनको साथि प्रतिष्ठानले युवाहरुलाई संगठित गरि युवाहरुलाई संजालमा जोड्ने संकल्प गरेको छ । प्रतिष्ठान देश तथा विदेशमा मिहेनतका साथ काम गरेका युवाहरुको आर्थिक सहयोगबाट सञ्चालनमा रहेको प्रतिष्ठान हो । यस प्रतिष्ठान गरिबको सहारा बनेर उनिहरुको पिडामा केहि हदसम्म पिडा कम गर्ने साझा संजाल हो ।

के भन्छ त मनको साथी प्रतिस्ठान 

देशभित्रै र देश बाहिर रहनुभएका युवाहरूको संजाल हो ” मनको साथी फाउन्डेसन” हामी यो फाउन्डेसन मार्फत नितान्त मानव सेवामा समर्पित काम हरु गर्न चाहन्छौं । यसलाई बैधानिकता दिन चाहन्छौं ! यो फाउन्डेसनमा जम्मा भएको रकमले हामी केहिहद सम्म निभेका चुल्होहरु बाल्न चाहन्छौ । चहर्याएका घाउहरुमा अलिकति मल्हम दल्न चाहन्छौं । गरिबीको कारण पढ्न नपाएका प्यारा भाइबहिनी हरुको झोलामा कमसेकम एउटा पेन्सिल र कापी राखिदिन चाहन्छौं ।सन्तान बाट हेपिएका बा आमा हरुको थोरै भएपनी आँसु पुछिदिन चाहन्छौं । सरकार पुग्न नभ्याएको झुपडीमा सिटामोल र तातोपानी पुर्याउन चाहन्छौं ! यो अभियानमा निस्चल मन सबैलाई स्वागत गर्ने संस्थाका सबै अभियन्ताहरुले बताउनुभएको छ।

प्रतिक्रिया

खबर सबै