
प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा आज पनि सुनुवाइ जारी रहेको छ । मंगलबार (आज)को बहस वरिष्ठ अधिवक्ता शम्भु थापाले सुरु गरेका छन् । सोमबार बोल्दाबोल्दै समय अपुग भएपछि थापाले आजका लागि बहस लम्ब्याएका थिए ।
आज पनि रिट निवेदककै पक्षका कानुन व्यवसायीको बहस चलिरहेको छ । बहसका क्रममा अधिवक्ता थापाले प्रतिनिधिसभा विघटनको औचित्य प्रधानमन्त्रीले पुष्टि गर्न नसकेको आशय प्रकट गरे । प्रधानमन्त्रीले दुई तिहाई बहुमतका लागि संसद विघटन गरेर निर्वाचनमा जाने भनी जवाफ दिएकोप्रति इंगित गर्दै अधिवक्ता थापाले त्यसलाई ‘हिटलर पारा’ भनी टिप्पणी गरे ।
उनले संसद विघटनलगत्तै प्रधानमन्त्रीले थप गैरकानुनी काम गरेको समेत बताए । ‘पुस ५ गते नै विघटन भयो, पुस ५ मै संवैधानिक अंगमा सिफारिस गरेर संसदमै पठाउनुभयो,’ अधिवक्ता थापाले भने, ‘बिहान ऐनअन्तर्गत बैठक बसेको छ, बेलुका अध्यादेश अन्तर्गत बसेको छ । जसले ४५ जनालाई संवैधानिक अंगमा सिफारिस गर्यो । त्यसमा स्वयं प्रधानन्यायाधीश पनि हुनुहुन्थ्यो तर त्यो संवैधानिक दायित्व थियो ।’
बहसकै क्रममा अधिवक्ता थापालाई संवैधानिक इजलासबाट न्यायाधीश अनिल सिन्हाले सरकार चलाउन असहयोग गरेको देखियो नि भनेर प्रश्न गरे । तर अधिवक्ता थापाले न्यायाधीशको कुराको खण्डन गर्दै भने, ‘नीति कार्यक्रम चलेकै छ, बजेट चलेकै छ । कुनै पनि मन्त्रीले सरकार छाडेका छैनन् । प्रधानमन्त्रीलाई कुन काममा असहयोग भयो ?’










प्रतिक्रिया