पाठक र रुबसका एक एक गजल

गजल

जिन्दगीका वास्तविकता पिरा भेटिन्छन्

मिठा सिद्धान्तहरुमा धमिरा भेटिन्छन्

शिक्षा,स्वास्थ्य,राजनीतिको कुरै नगर्नुस्

खानेपानीको जारमा पनि किरा भेटिन्छन्

जो सँग हामी वर्षौदेखि न्याय मागेका छौं

आखिरमा तिनै मान्छेहरू बहिरा भेटिन्छन्

माटोको लागि दुई दिन चिच्चाएर चुप लागियो

मेची-महाकाली पनि अब चिरा-चिरा भेटिन्छन् ।

-प्रकाश पाठक कपिलवस्तु

गजल

जिन्दगी जिउन कठिन छ कहाँ सरल छ

एकातिर चोट अर्कोतिर मुटु हलचल छ

चुहिने छानो चिहाउँछन् मेरा खुशीहरू

दु:ख खरिद गर्न को आउँछ मेरो पसल छ

पसिनाको लगानी गर्छु, नङ्ग्रा खियाउँछु

कहिल्यै फल्दैन आम्दानी नोक्सानी फल्छ

रोइरहेछ सडकमा भोको पेट, नाङ्गो शरीर

न आफन्त छन् न पेट पाल्न दालचामल छ

सुनसान छ मनको बस्ती कैयौं दिनदेखि

दिलमा फेरि यादहरूको चहलपहल छ

आफ्ना इच्छा मारे बा’ले सपना पूरा गर्न

फुटेका ती कुर्कुचामा फाटेको चप्पल छ

अदित्यी अर्याल ज्ञवाली– रुबस       

 

प्रतिक्रिया

खबर सबै