केही दिनमै नेकपा विवाद निरुपण गर्ने निर्वाचन आयोगको तयारी

काठमाण्डौ ।
निर्वाचन आयोगले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाभित्रको विवाद अबको केही दिनमै समाधान गर्ने तयारी थालेको छ ।

अब चुनावको तयारी गर्नु नपर्ने र पेस भएका दुवै पक्षका निवेदनहरुमाथि अध्ययन भइरहेकाले छिट्टै विवादको निरुपण गर्ने तयारी भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । संवैधानिक व्यवस्था, कानुनी प्रावधान, प्राप्त निवेदनलगायतलाई आधार बनाएर आयोगले अध्ययन अन्तिम चरणमा पुर्याएको छ ।

यसअघि चुनावको प्रयोजनका लागि विभिन्न काम गर्नुपर्ने भएकाले नेकपाभित्रको विवाद समाधान गर्न समस्या भइरहेको र अहिले अवस्था सहज भएकाले केही दिनमै विवादको निचोड निकालिने उहाँको भनाइ रहेको छ । यति दिनभित्र नै विवाद निरुपण हुन्छ भनेर आंकलन गर्न सकिने अवस्था नरहेपछि अहिलेलाई केही दिनभित्रै हुन्छ भनेर बुझ्नुपर्ने प्रवक्ता श्रेष्ठको भनाइछ ।

यसैबीच, नेकपाको विवाद समाधानका लागि आयोगले देखाएको भूमिकाप्रति नेकपाको प्रचण्ड(नेपाल समूहले असन्तुष्टि जनाएको छ । आयोगले संविधान र कानुनसम्मत ढंगले सहज निर्णय नगर्दा अहिले समस्या भइरहेको प्रचण्ड(नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठको भनाइ छ ।

यसअघि आयोगमा प्रचण्ड(नेपाल समूह र ओली समूहले उपलब्ध गराएका दुवै निर्णयलाई वैधानिकता नदिने आयोगले निर्णय गरेको थियो । त्यसपछि फेरि प्रचण्ड(नेपाल समूहले अर्को निर्णय बोकेर आयोग पुगेको थियो ।

प्रचण्ड(नेपाल समूहले आवश्यक परे बहुमत सदस्य नै आयोगमा उपस्थित हुने भन्दै बहुमत सदस्यहरुको नागरिकता र पार्टीको परिचयपत्र सङ्कलन गरेर राखेको छ । ओली समूहले पनि आफूसँग अध्यक्ष, महासचिव, माइन्युट सबै भएकोले आफूहरु नै नेकपाको आधिकारिक समूह भएको दाबी गर्दै आएको छ ।

प्रतिक्रिया