



लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणस्थलमा अर्थमन्त्री पौडेलको निरीक्षण, २६ प्रतिशत प्रगति

लुम्बिनी प्रादेशिक अस्पतालको निर्माणाधीन भवनको प्रगति अवस्थाबारे जानकारी लिन उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आइतबार स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा अर्थमन्त्री पौडेलले अस्पतालको संरचनागत निर्माण, प्राविधिक पक्ष र आर्थिक प्रगतिबारे पूर्वाधार विकास प्राधिकरण लुम्बिनी प्रदेशका प्रमुख कार्यकारी अधिकृत (CEO) इन्जिनियर छवि पोखरेलसँग विस्तृत जानकारी लिए। सो अवसरमा पोखरेलले निर्धारित समयभन्दा एक वर्षअघि नै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे। “कुनै ठूलो विपत्ति वा आर्थिक संकट नआएमा पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको काम हामीले चार वर्षमै सक्नेछौं,” उनले बताए।
अर्थमन्त्री पौडेलले विकास योजनामा देखिएको गम्भीरता र प्रतिबद्धतालाई सकारात्मक रूपमा लिँदै तय समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिए।
देशकै सबैभन्दा ठूलो र अत्याधुनिक सरकारी अस्पताल बन्ने लक्ष्यसहित निर्माण भइरहेको यो भवनको हालसम्म २६ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। मुख्य संरचनाको बेसमेन्टसम्म निर्माण पूरा भइसकेको र क्यान्सर उपचार भवनको ढलान सम्पन्न भएको प्राधिकरणका साइट इन्चार्ज इन्जिनियर शंकर सुवेदीले जानकारी दिए।
उनका अनुसार मुख्य भवनको दायाँ, बायाँ र बिच भागमा बेसमेन्ट निर्माण सकिएको छ। दोस्रो बेसमेन्ट र लेफ्ट विङको पहिलो बेसमेन्टको ढलान पनि पूरा भइसकेको छ। साथै, क्यान्सर भवनको र्याफ्ट फाउण्डेसनको काम समेत सम्पन्न भएको उनले बताए।
अस्पताल स्थलगत निरीक्षण कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री लिला गिरी, पूर्व स्वास्थ्यमन्त्री तथा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, नेकपा एमालेका पोलिटब्युरो सदस्य दधिराम न्यौपाने, एमाले लुम्बिनी प्रदेश सदस्य गोपाल राना लगायतको उपस्थिति थियो।
यस्तै, अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठ, मेडिकल सुपरीटेन्डेन्ट डा. इन्द्र ढकालसहित अस्पताल परिवारले अर्थमन्त्री पौडेलसहितको टोलीलाई स्वागत गरेका थिए।
लुम्बिनी प्रदेश सरकारको गौरव परियोजनाको रूपमा अगाडि बढाइएको प्रादेशिक अस्पतालको निर्माणका लागि दुई भवन, उपकरण तथा आन्तरिक व्यवस्थापनसहितको कुल अनुमानित लागत आठ अर्ब ९९ करोड ७५ लाख ६४ हजार १९९ रुपैयाँ रहेको छ।
भवन निर्माणको जिम्मेवारी भारतीय कम्पनी क्याम्पासाइट र नेपाली कम्पनीहरू आशिष कन्स्ट्रक्सन तथा रेलिगेर सम्मिलित संयुक्त संस्थालाई दिइएको हो। सम्झौता विसं २०८० पुस २६ गते भई माघ १८ गतेदेखि निर्माण कार्य सुरु गरिएको हो।
प्राधिकरणका अनुसार निर्माण कार्यको कुल म्याद ५ वर्ष तोकिएको छ भने कुल लागत ६ अर्ब १८ करोड रुपैयाँमा भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ। नयाँ भवन १२ तलाको हुनेछ, जसको तल्लो दुई तलामा पार्किङ, ओपिडी, आपतकालीन सेवा, इन्डोर सेवा लगायतका सुविधा रहनेछ भने माथिल्ला तलामा १२ सय शैय्याको उपचार सेवा रहनेछ।
अस्पतालले सम्पन्न भएपछि लुम्बिनी प्रदेशमा मात्र नभई समग्र देशका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने केन्द्रको रूपमा विकास हुने अपेक्षा गरिएको छ।


खबर सबै
-
हिल्बर्ट स्कुलमा १६ औँ अभिभावक दिवस,शैक्षिक प्रदर्शनी तथा सिर्जनात्मकता प्रस्तुत
-
शेयर बजार २ हजार ६ सय ४२ विन्दुमा झर्याे
-
दुर्गा प्रसाईलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
ठाउँठाउँमा शङ्कास्पद वस्तुकाे त्रास : रङकाे बट्टाले त्रसित बन्यो भैरहवा, कपिलवस्तुमा पनि त्यस्तै वस्तु फेला, डिफ्युज गर्दै सेना !
-
चुनाव स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न मानव अधिकार आयोगको आग्रह
-
प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै
-
अर्घाखाँचीमा पासोमा परेर घाइते भएको चितुवा मर्यो
-
टी-२० विश्वकप : नेपालको आज अन्तिम खेल, स्कटल्याण्डसँग भिड्दै
-
भैरहवामा भेटिएको शंकास्पद भनिएको वस्तु माटो राखेको बियरको बोतल











प्रतिक्रिया