

वाणगंगा बहुमुखी क्याम्पमा स्ववियु : स्वतन्त्र उम्मेदवारको तुफानी प्रवेश, ने.वि.संघ र अनेरास्ववियुलाई चुनौती



नवराज बेल्वासे – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति नजिकिँदै गर्दा वाणगंगा बहुमुखी क्याम्पस चुनावी चहलपहलले तातेको छ। २०७९ सालमा ने.वि.संघको तालाबन्दीका कारण स्ववियु निर्वाचन हुन नसकेको यो क्याम्पसमा यसपटक भने तीव्र प्रतिस्पर्धा हुने निश्चित देखिएको छ। प्रमुख विद्यार्थी संगठनहरूबीच वर्चस्व कायम गर्ने होड चलिरहँदा स्वतन्त्र उम्मेदवारहरूको उदयले चुनावलाई थप पेचिलो बनाएको छ।
वाणगंगा बहुमुखी क्याम्पसमा लामो समयदेखि प्रभाव राख्दै आएको ने.वि.संघ यसपटक आफ्नो गढ जोगाउन रणनीतिक रूपमा अघि बढेको छ। २०७४ सालको स्ववियु निर्वाचनमा अनेरास्ववियुलाई पराजित गर्दै माधव पौडेल सभापति बनेका थिए। अहिले भने संगठनले स्थानिय चिरपरिचित अनुहारका रूपमा स्थापित पुजन बहादुर मल्ललाई सभापतिका उम्मेदवारको रूपमा अघि सारेको छ। विद्यार्थी राजनीतिमा राम्रो अनुभव भएका मल्लले संगठनको पुरानो पकडलाई बलियो बनाउने दाबी गरेका छन्। उनले भनेका छन्, “यो क्याम्पसमा ने.वि.संघको इतिहास छ, यो विरासतलाई हामीले जोगाउनै पर्छ।”
ने.वि.संघको यो पकडलाई तोड्दै नयाँ नेतृत्व स्थापित गर्न अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) गठबन्धनले एकजुट भएर शिव शर्मा (शिशिर) लाई उम्मेदवार बनाएको छ। उनी संगठनका सक्रिय विद्यार्थी नेतामध्ये एक हुन्, जसले विद्यार्थी मुद्दामा लामो समयदेखि आवाज उठाउँदै आएका छन्। अनेरास्ववियु गठबन्धनको रणनीति क्याम्पसमा ने.वि.संघको पकड कमजोर पार्ने र बामपन्थी विद्यार्थी संगठनको बलियो उपस्थिति कायम गर्ने रहेको छ।
शर्माले भनेका छन्, “यो चुनाव व्यक्तिहरूको भिडन्त होइन, विचारहरूको प्रतिस्पर्धा हो। विद्यार्थीका अधिकार सुनिश्चित गर्नका लागि हामीले जित्नैपर्छ।”
वाणगंगा बहुमुखी क्याम्पसमा यस पटकको चुनावी माहोललाई अझ रोचक बनाएको छ स्वतन्त्र उम्मेदवारहरूको उपस्थितिले। स्वतन्त्र उम्मेदवार विशाल बि.सी.ले चुनावी मैदानमा उत्रिएसँगै विद्यार्थी मतदाताहरूलाई नयाँ विकल्प दिएका छन्। उनी कुनै संगठनको छत्रछायाँमा नरही स्वतन्त्र रूपमा प्रतिस्पर्धामा उत्रिएका छन्।
बि.सी.ले आफुलाई विद्यार्थी अधिकार र निष्पक्ष नेतृत्वको प्रतिनिधि को रूपमा प्रस्तुत गरेका छन्। उनले भनेका छन्, “हामीले सधैं दलगत राजनीति हावी भएको स्ववियु देख्यौं, तर अब स्वतन्त्र विद्यार्थीहरूको समय आएको छ।”
वाणगंगा बहुमुखी क्याम्पसमा कुल २८० मतदाता छन्। ने.वि.संघले आफ्नो ऐतिहासिक प्रभावलाई निरन्तरता दिन चाहँदा अनेरास्ववियु गठबन्धनले पुनरागमनको दावी गरिरहेको छ। अर्कोतर्फ, स्वतन्त्र उम्मेदवार विशाल बि.सी.को लोकप्रियताले विद्यार्थी समुदायमा उत्सुकता थपेको छ।
।


प्रतिक्रिया