

दशरथ रंगशालामा प्रतिबन्ध! नेपालले ‘होम म्याच’ पनि मलेसियामा खेल्ने



नेपालले आगामी मार्च २५ मा दशरथ रंगशालामा खेल्नुपर्ने एएफसी एसियन कप २०२७ छनोटको पहिलो खेल अब नेपालमै नहुने भएको छ। ‘होम म्याच’ भनेर तय भएको खेल समेत मलेसियामै हुने निश्चित भएको छ।
समूह एफमा रहेको नेपालले मलेसियासँग घरेलु मैदानमा खेल्ने भनिएको थियो, तर दशरथ रंगशालाले अन्तर्राष्ट्रिय खेल आयोजनाको स्वीकृति नपाउँदा मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा खेल खेल्नुपर्ने बाध्यता आएको छ।
एएफसीले आफ्नो आधिकारिक वेबसाइटमा खेलतालिका अपडेट गर्दै नेपाल–मलेसियाको खेल ‘स्वाप’ गरिएको उल्लेख गरेको छ। यसअघि पनि विश्वकप छनोटका खेलहरू नेपालले न्युट्रल भेन्युमा खेल्नुपरेको थियो।
किन नखेलियो दशरथ रंगशालामा?
यही रंगशालामा एन्फाले चारदेशीय महिला अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना गर्यो, क्लब प्रतियोगिता भए, तर पुरुष एसियन कप छनोटका खेलचाहिँ किन सम्भव भएनन्?
स्रोतका अनुसार एएफसी निरीक्षकहरूले रंगशालाको पिच, सुरक्षा व्यवस्था र ट्रेनिङ भेन्युहरूलाई मापदण्डअनुसार नभएको बताएका छन्। यही कारण अघिल्ला होम म्याचहरू समेत विदेशमै खेल्नुपरेको थियो।
अब नेपालले मार्च २५ मा मलेसियासँग मलेसियामै खेल्नेछ भने होम म्याचको टुंगो भने २०२५ को नोभेम्बरमा मात्र लाग्नेछ। नेपाली फुटबलले घरेलु मैदानमा खेल्न पाउने सपना कहिले पूरा होला? यो प्रश्न भने अझै अनुत्तरित छ!



प्रतिक्रिया