

बाणगंगाकी गीतालाई राहत, हराएको ५ तोला सुन प्रहरीद्धारा फिर्ता



बाणगंगाकी गीता कँडेलका लागि बुधबार एक तनावपूर्ण दिन बन्यो, तर बिहीबार प्रहरीको सक्रियताले त्यो तनाव खुसीमा बदलियो। बुटवलबाट घर फर्कंदै गर्दा उनी आफ्नो झोला गाडीमै बिर्सिइन्, जसमा ५ तोलाको सुनसहितका गरगहना थिए। तर, प्रहरीको तत्परताले झोला सुरक्षित रूपमा फेला पार्दै उनलाई फिर्ता गरिदियो।
बुटवलबाट बिङगर हुँदै बैरिया जाने क्रममा गीताले झोला गाडीमै छुटाइन्। घर पुगेपछि झोला हराएको थाहा पाएपछि तत्कालै प्रहरीलाई खबर गरिन्। झनै समस्या त तब भयो जब उनलाई आफू चढेको गाडीको नम्बरसमेत याद थिएन!
ईलाका प्रहरी कार्यालयका निरीक्षक लोकेन्द्र जिसी नेतृत्वको टोलीले बुटवल यातायात तथा पश्चिम नेपाल यातायात समितिसँग समन्वय गर्दै खोजी अभियान सुरु गर्यो। त्यही क्रममा झोला सवारी चालकले सुरक्षित रूपमा राखेको पत्ता लाग्यो। प्रहरीमार्फत झोला गीतासम्म सुरक्षित रूपमा पुर्याइयो।
झोला भेटिएपछि गीताले सबै गरगहना सुरक्षित रहेको बताइन्। ती गहनामा झुम्का, टप, रानीहार, बाला, छड्के तिलहरी, र ब्रासलेट थिए। हराएको गहना फिर्ता पाएपछि गीताले प्रहरीको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरिन्।
हराएका सामान सुरक्षित रूपमा फिर्ता गर्ने प्रहरीको कामप्रति स्थानीयबासीले पनि प्रशंसा व्यक्त गरेका छन्। प्रहरीको तत्परता नहुँदो हो त ५ तोलाका गरगहना भेटिन्छन् भन्ने कुरै थिएन!



प्रतिक्रिया