भारतले पाकिस्तानलाई भन्यो– अन्तर्राष्ट्रिय सहायतामा टिकिरहेको असफल राज्य 

भारतले संयुक्त राष्ट्र मानवअधिकार परिषद्‌मा पाकिस्तानलाई ‘असफल राज्य’ करार गरेको छ । भारतले पाकिस्तान अन्तर्राष्ट्रिय सहयोगमा मात्र बाँचिरहेको आरोप समेत लगाएको छ ।

संयुक्त राष्ट्रमा मानवअधिकार परिषद्को ५८ औँ सत्रमा भारतीय कूटनीतिज्ञ क्षितिज त्यागीले पाकिस्तानी नेतृत्वमाथि झुट फैलाएको आरोप लगाए ।

पाकिस्तानका कानुनमन्त्री आजम नाजिर तरारको आरोपपछि त्यागीले यस्तो बताएका हुन् । तरारले जम्मू कश्मिरमा मानवअधिकार उल्लंघन भइरहेको बताएका थिए ।

त्यागीले भने, “पाकिस्तानले कश्मिर र भारतको बारेमा निरन्तर झूट फैलाइरहेको छ ।” यसका प्रतिनिधिहरूले ओआईसीजस्ता मञ्चहरूको खिल्ली उडाइरहेको उनले बताए । 

क्षितिजले भने, “जम्मू कश्मिर र लद्दाखका केन्द्र शासित प्रदेशहरू सधैँ भारतका अभिन्न अंग रहेका छन् र रहनेछन् ।” पछिल्ला केही वर्षहरूमा जम्मू कश्मिरमा भएको अभूतपूर्व राजनीतिक, सामाजिक र आर्थिक प्रगति गरिरहेको उनले बताए । 

त्यागीले भने, “यस परिषद्को समय एक असफल देशले बर्बाद गरिरहेको छ, जुन अस्थिर छ र अन्तर्राष्ट्रिय सहायतामा बाँचिरहेको छ ।” 

उनले भारतको बारेमा धेरै सोच्नुको सट्टा पाकिस्तानले आफ्ना नागरिकको समस्या समाधान गर्नमा बढी ध्यानकेन्द्रित गर्न सुझाव दिए । बीबीसी

प्रतिक्रिया