फेसबुक लाइभ भिडिओ अब ३० दिनपछि आफैं डिलिट हुने

फेसबुकले अब लाइभ भिडिओहरू ३० दिनपछि आफैं डिलिट गर्ने भएको छ । मंगलबार एक ब्लग पोस्टमार्फत मेटाले यो नयाँ नियमबारे जानकारी दिएको हो । यसअघि लाइभ भिडिओ अनिश्चितकालसम्म फेसबुकमा सुरक्षित रहन्थ्यो ।

फेसबुकका अनुसार यो नयाँ नीति फेब्रुअरी १९ अर्थात् आजैदेखि लागू हुनेछ । यसको मतलब अब ३० दिनभन्दा पुराना लाइभ भिडिओहरू फेसबुकबाट हट्नेछन् । तर, फेसबुकले भिडिओ हटाउनुअघि प्रयोगकर्ताहरूलाई नोटिफिकेसन पठाउनेछ । प्रयोगकर्ताहरूले ती भिडिओहरूलाई के गर्ने भन्ने निर्णय गर्न ९० दिनको समय पाउनेछन् ।

यो अवधिमा प्रयोगकर्ताले भिडिओ डाउनलोड गर्न, क्लाउडमा राख्न वा रिल्स बनाएर फेसबुकमै राख्न सक्नेछन् । फेसबुकले प्रयोगकर्ताहरूलाई पुराना भिडिओहरू डाउनलोड गर्न थप समय चाहिएमा डिलिट गर्ने प्रक्रिया ६ महिनासम्म रोक्न सकिने सुविधा पनि दिएको छ । तर, यदि ६ महिनाभित्र पनि कुनै निर्णय गरिएन भने भिडिओहरू स्थायी रुपमा डिलिट हुने कम्पनीले जनाएको छ ।

फेसबुकले आफ्ना प्रयोगकर्तालाई पुराना लाइभ भिडिओहरू सुरक्षित राख्न नयाँ डाउनलोड टुलहरू पनि सार्वजनिक गरेको छ । प्रयोगकर्ताले ‘डाउनलोड लाइभ भिडिओज’ अप्सन प्रयोग गरेर आफ्ना पुराना भिडिओहरू एकैपटक डाउनलोड गर्न सक्नेछन् । ‘ट्रान्सफर लाइभ भिडिओ’ मा क्लिक गरेर ड्रपबक्स वा गुगल ड्राइभ जस्ता क्लाउड स्टोरेजमा पनि भिडिओहरू राख्न सकिने छ ।

फेसबुकले यो नयाँ परिवर्तनलाई रिल्स प्रवर्द्धन गर्ने अवसरको रुपमा प्रयोग गरिरहेको छ । किनकि लाइभ भिडिओ हटाउने क्रममा प्रयोगकर्ताहरूले आफ्ना महत्त्वपूर्ण पलहरूलाई रिल्समा परिवर्तन गरेर आफ्नो पेजमा राख्न सक्नेछन् ।

फेसबुकको यो कदमलाई कतिपयले स्वागत गरेका छन् भने कतिपयले आलोचना गरेका छन् । कतिपय प्रयोगकर्ताले अनिश्चितकालसम्म भिडिओ राख्न पाउने सुविधा हटाउनु दु:खद भएको बताएका छन् । तर, फेसबुकले यो परिवर्तनले प्रयोगकर्ताहरूलाई नयाँ अनुभव दिने र स्टोरेज पोलिसीलाई उद्योग मापदण्डसँग मिल्ने बनाउने बताएको छ ।

प्रतिक्रिया