

त्रिभुवन विमानस्थल झन्डै ५ महिनासम्म दैनिक १० घण्टा बन्द हुने



काठमाण्डाै : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आउँदो शुक्रवार कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्यक्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा झन्डै पाँच महिना लाग्ने हुँदा कात्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । गर्मीयाममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले अहिलेको समय मात्र विकल्प भएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिनुभयो ।
न्युज एजेन्सी नेपालसँग कुरा गर्दै महानिर्देशक अधिकारीले यो कामको योजना झन्डै आठ महिना अघिदेखिकै भएकाले यसलाई भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको उडानसँग जोडेर नहेर्न पनि आग्रह गर्नुभयो ।
हिउँद महिनामा उडान कम हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागेको प्राधिकरणले जनाएको छ । ट्याक्सी वे निर्माणपछि विमानस्थलको कार्यक्षमता २५ प्रतिशतले बढेर जाने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । प्राधिकरणले स्तरोन्नतिको अवधिभर बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ ।
महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तो दरको टिकट व्यवस्था गरेको स्मरण गराउनुभयो । उहाँले भैरहवा विमानस्थलमा थाई एअर एसिया, जजिरा र फ्लाई दुबई गरी तीन वटा अन्तर्राष्ट्रिय एअरलाइन्सले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिनुभयो ।
त्रिभुवन विमानस्थल दैनिक १० घण्टा बन्द गर्दा विमानहरुले उडान कटौती गर्ने र भाडा महँगिने तथा टिकट नै नपाउने हुँदा पर्यटक आगमनमा असर पर्ने भन्दै व्यवसायीहरुले चिन्ता जनाएका छन् ।


प्रतिक्रिया