

जीबी राई खोज्दै मलेसिया पुगेको प्रहरी टोली फर्कियो




काठमाडौं : पोखरा र काठमाडौंका सहकारीहरूमा ठगी प्रकरणमा संलग्न रहेका गितेन्द्रबाबु (जीबी) राईको खोजीमा मलेसिया गएको नेपाल प्रहरीको टोली काठमाडौं फर्किएको छ।
गत साता मलेसिया गएका प्रहरी उपरीक्षक (एसपी) र प्रहरी नायब निरीक्षक (सई) मलेसियाबाट बुधबार फर्किए पनि जीबी राईको अवस्थाबारे केही खुलाइएको छैन। प्रहरी स्रोतले अनुसन्धानकै क्रममा रहेको भन्दै यसबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।
पोखराको सूर्यदर्शन र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीमा सर्वसाधारणको ठूलो बचत हिनामिना गरेको आरोपमा जीबी राई फरार रहेका थिए। मलेसियामा रहेको सूचना पाएपछि परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर टोली मलेसिया पठाइएको थियो। तर, मलेसियाली सरकारले जीबीलाई फिर्ता गर्न मानेको छैन।
नेपाल प्रहरीले इन्टरपोललाई जीबी राईसँग सम्बन्धित थप कागजातहरू पनि उपलब्ध गराएको छ। यसअघि अदालतका कागजात, पक्राउ पूर्जी, अभियोजनको पत्रलगायत कागजात इन्टरपोललाई पठाइसकिएको थियो।
प्रहरी स्रोतका अनुसार जीबी राई मलेसियामा अपार्टमेन्ट किनेर बसेका छन्, जसका लागि उनले सात करोड रुपैयाँभन्दा बढी खर्च गरेका छन्। प्रहरीको दाबी अनुसार, उनले एक अर्ब रुपैयाँभन्दा बढी मलेसियामा लगानी गरेका छन्।
जीबी मलेसियाको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ योजना अनुसार मलेसियाली नागरिकसरह बसोबास गरिरहेका छन्, जसले उनलाई सुरक्षित बनाइरहेको प्रहरी अधिकारीहरूले बताएका छन्।
यसअघि जीबीलाई नेपाल ल्याउन कूटनीतिक पहल असफल भएपछि, स्थलमार्ग हुँदै उनी भारतबाट मलेसिया पुगेको खुलासा भएको थियो।

प्रतिक्रिया