लुम्बनी प्रदेशको पहाडी भू–भागमा ‘रेमल’ चक्रवातको प्रभावले बदली र वर्षा

काठमाण्डाै : बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली चक्रवात ‘रेमल’ को प्रभावका कारण आज कोशी प्रदेशसहित देशको मध्य क्षेत्रसम्म बदली र वर्षा भएको छ ।

बितेको २४ घण्टामा इलामको बर्फल्याङमा झन्डै ७० मिलिमिटर पानी परेको छ । यस्तै कोशी प्रदेशका धेरै भू–भागसँगै बाग्मती, गण्डकी र लुम्बिनीमा पनि ‘रेमल’ चक्रवातकै प्रभावले वर्षा भएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

नेपालमा चक्रवातको अप्रत्यक्ष असर देखिएको हो । चक्रवातका कारण विकसित भएको मौसमी प्रणालीले जमिन छुन थालेकोले अब वर्षाको दर कम हुँदै जाने र भोलि बेलुकादेखि मौसम सफा हुन थाल्ने मौसमविद् मानन्धरले बताउनुभयो ।

आज राति र भोलि कोशी प्रदेश, मधेश, बागमती र गण्डकी प्रदेशमा चट्याङ, हावाहुरीसहितको वर्षा हुने सम्भावना छ । कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बनी प्रदेशको पहाडी भू–भागमा ‘रेमल’ चक्रवातको प्रभावले बदली र वर्षा हुँदा केही शीतल अनुभव भए पनि सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने गर्मी झनै बढेको छ ।

आज सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तराईका सबैजसो ठाउँको तापक्रम ४० डिग्री सेल्सियस वा त्यसकै आसपासमा पुगेको छ । मौसम पूर्वानुमान महाशाखाले ती क्षेत्रमा अझै केही दिन तातो हावाको लहर चल्ने सम्भावना रहेको भन्दै सचेतता अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

खबर सबै