दुईदिने राजकीय भ्रमणका लागि नेपाल कतारका राजा

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार नेपाल आउँदैछन्। उनी दुईदिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन्।

अमिर थानी बंगलादेशको राजधानी ढाका हुँदै मंगलबार अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन्। उनको स्वागतको लागि राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थलमा जाने कार्यक्रम तय भएको छ।

यसैबीच अमिरको भ्रमणका अवसरमा सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले अमिर थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

उनको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताएका छन्।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेशको भ्रमण गरिसकेका छन्। दुई देशको भ्रमण सकेनर नेपाल आउन लागेका अमिर नेपालमा दुई दिन रहने राजदूत अल अन्सारीले बताएका छन्।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीको तीनवटै देशका उच्च नेतृत्वसँग भेटवार्ता पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित छ।

Laxmi bank
कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ।

कतारका अमिरबाट नेपालमा पहिलोपटक यो भ्रमण हुन लागेको हो।

भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्नेलगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ।

प्रतिक्रिया