रकम अभावमा उपचारविहिन बने कपिलवस्तुका लिलबहादुर सुनार

रामबहादुर गन्धर्व, कपिलवस्तु । कपिलवस्तुका ३३ वर्षीय लिल बहादुर सुनार विगत लामो समय देखि मुटु सम्बन्धी गम्भिर प्रकृतिको रोगले ग्रसित छन् । जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर १ का सुनारको मुटुको भल्व नै फेर्नुपर्ने चिकित्सकले बताएसँगै सुनार परिवारमा अहिले ठूलो खर्च जोहो गर्न नसक्दा रोग पालेर जीवन मरणको दैनिकी गुजारीरहेका छन ।

पारिवारिक आर्र्थिक अवस्था निकै कमजोर रहेका सुनारले अहिले आफ्नो उपचार खर्च व्यवस्थापनका लागि विभिन्न निकाय र क्षेत्रमा याचना गरिरहेका छन् । उनी भन्छन्, खर्च धेरै लाग्ने भयो । परिवारको आम्दानी छैन । बिहान साँझको खर्च पनि मजदुरी गरि पुरा गर्ने गरीएको छ । उपचारका लागि सहयोग पाए राम्रो हुने थियो ।

बुवा धनबाहादुर र आमा विष्णी सुनारका जेठा सन्तानका रुपमा रहेका लिलबहादुरको उपचारका लागि परिवारले अहिले सम्म लाखौँ रकम खर्च गरिसकेका छन् । तर रोग निको नभएपछि अन्तमा चिकित्सकले मुटुको भल्व फेर्नुपर्ने बताए । उक्त उपचारका लागि झण्डै ६ लाख अनुमानित खर्च लाग्ने भएपछि परिवारलाई उक्त रकम जुटाउने चिन्ताले पिरोलिरहेको छ । केहि क्षेत्रबाट सामान्य सहयोग जुटेको भएता पनि अवाश्यक ठूलो धनराशी जुटाउन यो परिवार भौतारिरहेका छन् । लिलबहादुरका श्रीमतिसहित एक छ वर्षीय छोरी छिन् ।

चार सन्तान मध्येका जेठो सन्तान लिलबहादुर बिरामी भएपछि उनको परिवारलाई अहिले दैनिक खर्च चलाउन समेत मुस्किल छ । धनबहादुरका कान्छो छोरा रोजगारीका शिलशिलामा भारतमा रहे पनि हाल उनी परिवारसँग सम्पर्कविहिन छन् । छोरो भारत गएको तर अहिले सम्पर्कविहिन रहेको बुवा धनबहादुरले बताए । यस्तै उनले दुईवटी छोरीहरु विवाह गरी आ आफ्ना घरमा रहेका र अहिले परिवारमा जेठो छोरामा मात्रै आफुहरुको साथमा रहेको बताए । साथमा भएको छोरालाई पनि गम्भिर रोगले छोएपछि सुनार परिवार थप पिडामा छन ।

लिलबहादुरको हाल गंगालाल मुटु अस्पताल काठमाडौँमा उपचार गराइएको छ । परिवारले आफूसँगको सबै रकम उपचारमा सकिएसँगै शल्यक्रियाका लागि आवश्यक रकम जुटाउन नसक्दा रोग पालेर बाँच्नुपरेको छ । उनले सहयोगको अपिल समेत गरेका छन् । लिलबहादुरले आफ्नो एनएमबि बैँकमा रहेको खाता नम्बर ०४४०२१८९०००१५ मा आफू सक्दो रकम जम्मा गरी आफ्नो उपचारमा रहयोग गरिदिन आग्रह गरेका छन् ।

 

प्रतिक्रिया