कपिलवस्तु महाेत्सव : ड्राेन र दर्जनाै क्यामेराबाट निगरानी हुने

कपिलवस्तु : १४ औं कपिलवस्तु महोत्सवको सुरक्षा व्यवस्था कडा हुने भएको छ । महोत्सव अवधिभर हुनसक्ने सुरक्षा चुनौतिलाई मधयनजर गर्दै ड्रोन क्यामेरा तथा सिसिटिभी बाटै निगरानी गरिने भएको हो । बाणगंगा वेयलफेयर सोसाइटीले आयोजना गर्ने महोत्सवलाई सफल पार्न बिभिन्न समिति उपसमितिले काम गरिरहेका छन् । यसै सन्दर्भमा शान्ति सुरक्षा समितिले पनि आफ्नो काम द्रुत ढंगबाट गरिरहेको छ ।

शान्ति सुरक्षा समिति संयोजकको जिम्मा पाएका राजन आलेका अनुसार कृषि, पर्यटन र औद्योगिक प्रदर्शनीलाई असफल पार्ने, शान्ति सुरक्षामा खलल पुर्याउने खालका काम गर्ने तत्वको निगरानीको लागि महोत्सव स्थलमा र्ड्रोन क्यामेरा प्रयोग गरिने छ । ३५ क्यामेरा र एउटा  ड्रोन संचालनको लागि अनुमति लिइएको बताउँदै ड्रोनबाट चार नम्बर क्षेत्रभरीकै निगरानी हुने उनले बताए । संयोजक आलेले अन्य शान्ति सुरक्षा तथा समन्वयको लागि ठुलो मात्रामा स्वयम सेवक पनि परिचालन गर्ने बताए ।

‘गेटदेखि मंचसम्म दर्जनौँ स्वयम् सेवक परिचालन हुन्छन्’ उनले थपे ‘महोत्सवस्थलभित्र स्टल धनीको लागि पनि विशेष सुरक्षा अपनाइको छ । नेपाल प्रहरी र शशष्त्र प्रहरी पनि बाक्लो संख्यामा परिचालन हुनेछन् । कुनै पनि अवाञ्छित गतिविधि महोत्सव स्थलमा हुने छैन । ढुक्क भएर आउन आग्रह गर्दछु ।’

निगरानी गर्दागर्दै पनि लुकिछिपी अवाञ्छित गतिविधि गर्नेमाथि कडा कारबाही हुने उनको दावी छ । महोत्सव मंसिर २१ देखि पुष १ गतेसम्म संचालन हुने छ । अहिले महोत्सवको तयारीको लागि धमाधम काम भइरहेको छ । महोत्सव संयोजक तथा वाणगंगा वेफफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाँणले करिब ५० प्रतिशत तयारी सकिएको बताए ।

प्रतिक्रिया