महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटमा नेपालको लगातार चौथो जित, सेमिफाइनलमा प्रवेश

काठमाण्डाै :

नेपाल आईसीसी महिला टी-२० विश्व कप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा पुगेको छ । बिहान मलेसियाको बांगीमा भएको खेलमा कतारलाई ९ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो ।

लगातार चौथो खेल जितेको नेपाल समूह ‘ए’ बाट एक खेल अगावै सेमिफाइनलमा पुगेको हाे । कतारले जितका लागि दिएको ७५ रनको लक्ष्य नेपालले १० ओभर ३ बलमा १ विकेट गुमाएर भेट्टायो । नेपालकी काजल श्रेष्ठले सर्वाधिक ३२ रनको योगदान दिइन् । त्यस्तै, इन्दु बर्मा २० र सीता राना मगरले १७ रन बनाइन् । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ७४ रन बनाएको थियो ।

कतारकी साची धडवालले सर्वाधिक २१ रन जोडिन् । यस्तै, एलिना खानले १५, एन्जिलेने मारेले १४ र यशाले १० रन जोडे । नेपालकी इन्दु बर्माले ३ विकेट लिइन् भने पूजा महतो र कविता जोशीले एक/एक विकेट लिए। नेपालले यसअघि मलेसिया, बहराइन र भुटानलाई पराजित गरेको थियो । नेपालले समूहको अन्तिम खेलमा यूएईसँग पर्सि बुधवार खेल्नेछ ।

प्रतियोगितामा सहभागी ११ देशलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, बहरान, भुटान, मलेसिया, कतार र यूएई छन् । समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यानमार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउनेछन् ।

प्रतिक्रिया