पहाडी भेगका केही ठाउँमा दिउँसाे पानी पर्ने, तराईका केही ठाउँमा हावाहुरी चल्ने सम्भावना

काठमाण्डाै :

 अहिले कोशी, मधेस, बाग्मती र गण्डकी प्रदेशका केही भागमा पानी परिरहेको छ । पछिल्लो तीन घण्टादेखि ती क्षेत्रमा पानी परिरहेको छ । अहिले कोशी, मधेस र बाग्मती प्रदेशका धेरैजसो ठाउँ र बाँकी प्रदेशका केही ठाउँमा बदली भइरहेकाे मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा रहेकाले नेपालमा बदली र वर्षा भइरहेको हो ।

यस्तै, बङ्लादेशको उत्तरी भू–भागमा रहेको न्यून चापीय क्षेत्रको समेत प्रभाव छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । देशका पहाडी भू–भागका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना छ ।

आज मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराईका केही ठाउँमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति गण्डकी प्रदेशको केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । वर्षाका कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू–क्षय जस्ता प्रकोप हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाकाे आग्रह छ ।

यसैबीच, पछिल्लो १२ घण्टामा बाराको निजगढ, अमलेखगञ्ज, सर्लाहीको कर्मैया, सङ्खुवासभाको खाँदबारी र तुम्लिङटार, धनकुटाको विभिन्न क्षेत्र, मकवानपुरको मकवानपुरगढी, कास्कीको लुम्ले र जुम्लेटी, पर्साको ठोरी, बाराको कलैया र परवानीपुर लगायतका क्षेत्रमा ठूलो पानी परेकाले ती क्षेत्र र आसपासका नदी तटीय क्षेत्रमा सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया