कपिलवस्तुको खोरियाबासीः बाँध भत्काएपछि गाउँ नै बगाउने चिन्तामा

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं. ८ खोरियाबासीहरु पानी पर्ने बित्तिकै चिन्तित हुन्छन् । बाणगङ्गा नदीको कटानका कारण खोरिया गाउँवासी राति नदी गाउँ पस्छ कि भन्ने त्रासमा रातभर जाग्राम बस्छन् । नदीमा लगाएको बाँध भत्काएपछि स्थानीय चिन्तित बनेका हुन् । बाणगङ्गा नदीको बहाव बस्तीतर्फ सर्दै गएपछि गाउँ नै बगाउने खतरा बढेको हो ।

नदीले हरेक वर्ष कटान गर्दै आएपछि गाउँसँगै भएर नदी बग्न थालेको छ । लगभग २ सय ४० घर धुरी रहेको गाउँमा नदी कटान ठुलो समस्याको रूपमा देखापरेको छ । नदी कटानका कारण सो क्षेत्रको खेतीयोग्य जमिन बगरमा परिणत भएको हो ।

स्थानीय पुष्पावती पासीका अनुसार बाँध कटानका कारण रातभर जाग्राम बस्न बाध्य छन् । उहाँले भन्नुभयो, ‘यो समस्याको समाधानका लागि ठोस योजनासहित नदी कटान व्यवस्थापनका लागि विशेष कार्यक्रम ल्याउनुपर्छ ।’

स्थानीय ७० वर्षीय तौलेश्वर यादवका अनुसार नदीले बहाव परिवर्तन गर्दै पूर्वतर्फ गएपछि ३५ वर्षको अवधिमा २ हजार बिघा खेतीयोग्य जमिन पनि नदीले बगायो । गाउँका सबैको धेरै थोरै जमिन नदीले बगरमा परिणत गरेको उहाँको भनाइ छ । अधिकांश विपन्न परिवार रहेको गाउँमा नदी कटानले खेत बगर बनाएपछि यहाँका गाउँलेहरु समस्यामा परेका छन् ।

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार वाणगङ्गा नदी कटान गरेको खोरिया गाउँ गरेको र कटान रोक्न पालिकासँग सहकार्य भइरहेको छ । पालिकाले एक्लै कटान रोक्न नसकेको अवस्था देखिएमा पालिकाबाट निर्णय गराएर जिल्ला विपद् समितिमार्फत प्रदेशसँग आवश्यक समन्वय गर्ने उहाँको भनाइ छ । नदी कटान रोक्न जिल्ला विपद् समिति लागिपरेको प्रजिअ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया