चोटका कारण मैदान बाहिर सोमपाल
काठमाडौं
आईसीसी क्रिकेट विश्वकप छनोटको पहिलो खेलमा जिम्बाब्वेविरुद्ध बलिङ गरिरहेको नेपालका सोमपाल कामी औँलामा चोट लागेपछि मैदानबाट बाहिरिएका छन् ।
जिम्बाब्वेको राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको ३४औं ओभरमा बलिङका लागि आएका सोमपालको बुढी औँलामा चोट लागेपछि उनी मैदानबाट बाहिरिएका हुन् ।
जिम्बाब्वेका ब्याटर सिन विलियम्सले प्रहार गरेको बल रोक्नेक्रममा बलले उनको बुढी औँलामा लागेको थियो । सोमपाल बाहिरिएपछि उक्त ओभरको बाँकी तीन बल आरिफ शेखले गरेका थिए ।
सोमपालको स्थानमा ज्ञानेन्द्र मल्ल फिल्डिङका लागि मैदान प्रवेश गरेका छन् । नेपालले प्रस्तुत गरेको २९१ रनको लक्ष्य पछ्याइरहेको जिम्बाब्वेले अहिले ३४ ओभरको समाप्तिमा दुई विकेट गुमाएर २०१ रन बनाएको छ ।
प्रतिक्रिया