विश्व मरुभूमीकरण तथा खडेरी विरुद्धको दिवस

हामी बसोबास गर्ने स्थानको जमिन, जमिनमा भएका जैविक तथा अजैविक प्राकृतिक अवयवहरू, जल तथा जलाशयमा बसोबास गर्ने जीवजन्तुहरू तथा वनस्पतिहरू, हाम्रो आकाश र आकाशमा भएका सबै खाले जैविक तथा अजैविक जीवात्माहरू र तिनीहरूको पारस्परिक सम्बन्ध नै हाम्रो वातावरण हो ।

यही पारस्परिक सम्बन्धको चक्रबाट सबै प्राणी, वनस्पति र सूक्ष्म जीवहरूको अस्तित्व सम्भव भएको छ । प्रकृतिले विभिन्न प्रजातिहरू बीचको अन्तरक्रिया तथा अन्तरसम्बन्धको जटिल वेब सृजना गरेको हुन्छ, जसलाई पारिस्थितिकीय प्रणाली÷इकोसिस्टम भनिन्छ ।

सत्य कुरा के हो भने राम्रो पारिस्थिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढवा गर्न सक्दछ,जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न मदत गर्दछ र जैविक विविधता विनाश हुनबाट जोगाउँदछ । जैविक विविधता हाम्रो जीवन हो, वन पृथ्वीको फोक्सो हो, सिमसारहरू मिर्गौला हुन यिनीहरूको संरक्षण गर्न सकिएन भने मानवलगायत जीवित प्राणीको अस्तित्व रहन सक्दैन त्यसैले प्रकृतिको सम्मान गर्नु अति आवश्यक छ । हाम्रो वरिपरिको वातावरणीय सन्तुलन नै मानव सभ्यताको सूचक हो । पछिल्लो समय वन जङ्गल तथा सिमसार क्षेत्रहरू विभिन्न मानव क्रियाकलापबाट मासिने क्रम तीव्र छ । वातावरणीय क्षयीकरणको अर्को कारक तत्त्वका रूपमा खाद्य तथा ध्वनि प्रदूषण रहेको छ । धातुजन्य फोहोर, हानिकारक रसायनहरू तथा विषादी आदिका कारणले माटो प्रदूषित हुँदै जाँदा त्यसले खाद्य प्रदूषण बढाएको छ । विभिन्न जैविक तथा औद्योगिक–रासायनिक, धातुजन्य तथा कृषिजन्य प्रदूषणका कारण समुन्द्रमा बस्ने जलचर तथा उभयचरहरू पनि सङ्कटमा परेका छन् । अव्यवस्थित बसोबास, सहरी क्षेत्रमा जनसङ्ख्या र जनघनत्वमा भइरहेको वृद्धि, बढ्दो सवारी चाप तथा मानवीय क्रियाकलापका कारण सबै किसिमका प्रदूषणहरू बढिरहेका छन् । खाद्य तथा ध्वनि प्रदूषणले मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर पुर्‍याउनुका साथै विभिन्न खालका रोग व्याधि निम्ताइरहेको छ । आज विश्वमा वातावरणीय विनाश तथा क्षयीकरण जनस्वास्थ्यका लागि सर्वाधिक चिन्ताको विषय बनेको छ । युनिसेफको एक तथ्याङ्कअनुसार, विश्वमा दुई अर्ब १० करोड मानिस सुरक्षित तथा व्यवस्थित पिउने पानीबाट वञ्चित छन् ।

प्रत्येक वर्ष जुन १७ लाई विश्व मरुभूमीकरण तथा खडेरी विरुद्धको दिवसको रूपमा संसारभरि चिन्ने गरिन्छ । विश्व जगतले यस दिनलाई मरुभूमीकरण तथा खडेरीको विरुद्ध जुद्धन एकता हुने दिनको रूपमा मनाउने गरेका छन् । संयुक्त राष्ट्रसङ्घको सन १९९४ को महासम्मेलनले जुन १७ लाई मरुभूमीकरण तथा खडेरीको विरुद्ध जुद्धन एकता हुने दिवसको रूपमा स्थापना गरेको हो । जसको उद्देश्य बिग्रँदो मानव वातावरणलाई सुरक्षित राख्न आइपरेका चुनौतीहरूलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने सवालमा केन्द्रित भएको थियो । खास गरेर यसले विश्वका मरुभूमीकरण हुने अवस्थामा रहेका जोखिमयुक्त क्षेत्रहरू लाई बढी ध्यान दिन खोजेको छ, जहाँ धेरै कमजोर अवस्थाका मानिसहरू बसोबास गर्ने गर्दछन् र विभिन्न कारणबाट त्यहाँको पारिस्थिकिय प्रणाली पनि प्रभावित बन्ने गरेको छ ।

त्यस समय पछिका जुन १७ लाई सुख्खा खडेरी र मरुभूमीकरण विरुद्ध एकजुट हुन अन्तर्राष्ट्रिय समुदायले गरेको प्रयासमा ऐक्यबद्धता जनाउने र जनचेतना विस्तार गर्ने उद्देश्यका साथ प्रत्येक वर्ष मनाउने क्रम विश्वमा बढाइराखिएको छ । यसै क्रममा मरुभूमीकरण तथा खडेरीसँग जुध्न जनचेतना बढाउने उद्देश्यका साथ यो दिवस स्पेनको मड्रिडमा भव्यताका साथ मनाइँदै छ । स्पेन जलवायु परिवर्तनबाट हुने मरुभूमीकरण, खडेरी तथा पानीको सङ्कट जस्ता समस्याको लागि अति संवेदनशील राष्ट्रमा पर्दछ । स्पेन सरकार यस्ता चुनौती र समस्याहरूसँग जुध्न र समाधानका उपायहरूको खोजी गर्ने देशहरूको अग्र पन्थीमा पर्दछ । उससँग यस विषयका धेरै राम्रा अनुभवहरू पनि छन् । मानव जाती र पारिस्थीकिय प्रणालीमा पर्ने खतरनाक परिणामको सामना गर्न छिट्टै काममा जुटौँ भन्ने यसको उद्देश्य रहेको छ ।

सन १९९४ को महासम्मेलनले विश्वका संयुक्त राष्ट्र सङ्घ अन्तर्गतका राष्ट्रहरू, त्यसका सरकारहरू र सङ्गठनहरूलाई पृथ्वीको मरुभूमीकरणलाई न्यूनीकरण गर्न र पारिस्थितिकीय प्रणालीको संरक्षणमा बढवा दिन, सम्मेलनमा जाहेर गरेका प्रतिवृद्धतालाई कार्यान्वयन गर्न तथा उनीहरूको ध्यानाकर्षण जनचेतना फैलाउने काममा जोड दिन आग्रह गरेको थियो ।

विभिन्न वर्षहरूमा फरक फरक नाराका साथ विभिन्न देशहरूमा यो दिवस मनाउँदा जोड दिइएका विषयहरूले यस धर्तीमा भएका जीवित वनस्पति र प्राणी जगतको संरक्षणबाट मानव जगतको लागि बस्न योग्य सुन्दर पृथ्वी बनाउने उद्देश्य राखेका हुन्छन् ।

महासम्मेलनका सहभागी राष्ट्रका सदस्यहरूले भूमिको पुनर्स्थापनाद्वारा माटोको उत्पादकत्व वृद्धि गर्न तथा सुख्खा खडेरीबाट जोगिने उपायका लागि वृक्षारोपण जस्ता कार्यक्रमद्वारा मरुभूमीकरण तटस्थतामा पुर्‍याउन सम्भव छ यसको लागि समुदायको मजबुत÷दह्रो सहभागिताको आवश्यकता रहन्छ भने सबै तहहरूको बीचमा राम्रो समन्वयको जरुरी पर्दछ भन्ने सन्देश दिँदै स्थानीय जनसमुदायको सहभागिता वृद्धि गर्न उत्साहित गर्ने कुरामा विश्वास राख्दै कोसिस गरिरहेका छन् । संयुक्त राष्ट्र सङ्घको यसलाई हेर्ने सचिवालय, महासम्मेलनका सहभागी राष्ट्रका सदस्यहरू तथा सरोकारवालाहरूले सचेतनका कार्यक्रमहरू चलाउँदै त्यसलाई व्यवहारिकतामा परिणत गरी सत्यको नजिक पुग्न कोसिस गरिरहेको देखिन्छ ।

मरुभूमीकरण तथा खडेरी भनेको वर्षात् नहुनु मात्र होइन जलवायु परिवर्तनको असर र मानव क्रियाकलापबाट जमिनको उर्वरा शक्तिमा ह्रास आउनु हो । उत्पादनशील जमिन क्रमशः अनुत्पादक बन्दै जाने प्रक्रिया नै मरुभूमीकरणको अवस्था हो । उर्वर भूमिको जङ्गल विनाश हुनु, अत्यधिक दोहनका साथ कृषि प्रणाली अपनाइनु र सुख्खा खडेरीले आक्रान्त पार्दा उक्त भूमि बाँझोमा परिणत हुने कारणहरू नै जमिन मरुभूमीकरण हुने अवस्था हो जुन विश्वमा बढ्दो पारिस्तितिकीय÷वातावरणीय समस्याको रूपमा देखा परेको छ ।

दिगो विकाशको लागि मरुभूमीकरण, सुख्खा खडेरीबाट सिर्जित समस्याहरू विकासोन्मुख तथा विकसित राष्ट्रहरूको लागि ठुलो चुनौतीको रुममा खडा भएको छ । प्रत्येक वर्ष विश्वका ५ करोड ५ लाख मानिस मरुभूमीकरण तथा सुख्खा खडेरीबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने सन २००० देखि सुख्खा खडेरीका सङ्ख्या र अवधि २९ प्रतिशतले वृद्धि भएको जनाइएको छ ।
सन १९०० र २०१९ का बिचमा विश्वका २ अरब ७० करोड मानिस यसबाट प्रत्यक्ष प्रभावमा परेका छन् भने १ करोड १७ लाख मानिसको मृत्यु भएको छ । तथ्यहरूले के देखाउँदछन् भने २०४० सम्ममा हामी मध्ये धेरै भन्दा धेरै मानिस तथा प्राणीहरू पिउने पानीको अभावबाट ग्रसित भएका हुनेछौ भने प्रत्येक चार बालबालिका मध्ये एक जना यसबाट प्रताडित हुनेछन् भनी अनुमान गरिएको छ ।

सन २०५० सम्ममा विश्वका तीन चौथाइ जनसङ्ख्यालाई यसले असर पुर्‍याउने छ भनी पूर्वानुमान गरिएको छ । मरुभूमीकरणको अवस्था सुख्खाग्रस्थ क्षेत्रफलमा विस्तार हुने नभएर त्यस्ता क्षेत्रहरू जसले विश्वका एक तिहाइ हिस्सा वगटेकोछ र अति संवेदनशील अवस्थामा पुगेको छ, त्यहाँको जनसङ्ख्यामा वृद्धि, गरिबी, राजनैतिक अस्थिरता, जमिनको अनुचित प्रयोग,वन विनाश, अति चरिचरण अनुचित सिँचाइका कारण जमिनको उत्पादकत्व घट्दो अवस्थामा पुगेको छ जसले कार्बन उत्सर्गनमा बढवा गर्दछ मने जैविक विविधतामा ह्रास ल्याउँदछ ।

यस कारण यो हामी सबैको चासोको विषय बन्न पुग्नु स्वाभाविक हो । त्यसैले उक्त महासम्मेलनले विश्वका सम्पूर्ण राष्ट्रहरूलाई जमिन एक महत्त्वपूर्ण सीमित प्राकृतिक श्रोत÷पुँजी हो यसलाई वृद्धि गर्न सम्भव छैन त्यस कारण प्रत्येक व्यक्ति यसको भागिदार भएको हुँदा आफ्नो भविष्यको बचाउका लागि यसको उर्वराशक्तिmमा भएको क्षयीकरणलाई पुनर्जीवित गरी पारिस्थितिकीय प्रणालीको पुनर्स्थापनाको लागि आ–आफ्नो स्थानबाट लागौँ भनी आव्हान गरेको छ ।

सुख्खा, खडेरी र मरुभूमीकरणका कारणले मानवतामाथि नै सङ्कट उत्पन्न भएको अर्थमा बुझ्दा यसलाई न्यूनीकरण गर्दै अगाडी बढ्नु आजको आवश्यकता हुन आउँछ । सुख्खा, खडेरी र मरुभूमीकरण सम्बन्धी महासम्मेलनले पनि यसले निम्त्याएका र अझै निम्त्याउन सक्ने नकारात्मक असरहरू र क्षतिलाई सकेसम्म कम गर्दै अनुकूलतामा ढाल्ने केही आपतकालिन तयारी गर्नै पर्ने औँल्याएको छ ।

सन २०२० को अन्त्यतिर सोमालियामा भएको भयङ्कर खडेरीलाई नियालेर हेर्ने हो भने त्यसले अति कम विकसित र विकासोन्मुख नेपाल जस्ता देशहरूलाई पनि सोझो वा घुमाउरो तरिकाले प्रभाव पारिराखेको हुन्छ भन्न सकिन्छ । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनले अति सुख्खा प्रभावित देशहरूमा बढी ध्यान पुर्‍याउन पर्दा नेपाल जस्तो देशले पनि यथोचित लाभ लिन नसक्ने स्थिति उत्पन्न हुन गएको यथार्थ हाम्रो सामु छ । अरू देशहरूले भोगेका गम्भीर घटनाहरूबाट हाम्रो देशले पनि समयमा नै पाठ सिक्न जरुरी छ । यी सबैबाट हुनसक्ने र निम्तिन सक्ने खतरालाई समयमै सम्बोधन गर्न जनतामा व्यापक जनचेतना, स्थानीय, प्रादेशिक र सङ्घीय सरकारहरूको पूर्व तयारीको आवश्यकता हुन्छ । यी सबै कार्यहरू गर्न राजनीतिक इच्छा शक्ति भने राज्य सञ्चालन गर्ने र गर्न चाहने सबै दलहरूमा हुनै पर्दछ ।

नेपालले पनि यो दिवसलाई विभिन्न सङ्घ, संस्था, सङ्गठनहरूको सहकार्यमा विविध कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ । प्राकृतिक श्रोतको दिगो सदुपयोग गर्दै वातावरण संरक्षण गर्नुपर्छ, प्रकृतिसँग हाम्रो नजिकको सम्बन्ध रहेको हुन्छ, यसको संरक्षण नगर्दा विपत्को सामना गर्नुपर्छ, हाम्रो जिम्मेवारी के हो भन्ने जनचेतना फैलाउने उद्देश्यका साथ चेतनामूलक जुलुस प्रदर्शन तथा विभिन्न कलेज, स्कुल तथा साहित्यकारहरूका बीच विभिन्न प्रतिस्पर्धा प्रतियोगितात्मक कार्यक्रम सञ्चालन, सरसफाइ तथा वृक्षारोपण गर्ने गरेको देखिन्छ जसले प्रकृति संरक्षणमा सकारात्मक काम गर्न चेतना फैलाउने काम गर्न सक्दछ । नेपालले नाराहरू तय गर्दा हिमालको रक्षा गरौँ वातावरण संरक्षण गरौँ भन्नेमा जोड दिएको हुन्छ किनकि नेपाललाई चिनाउने विश्वको शिर सगरमाथादेखि अन्य हिम श्रृङ्गखलाहरुले पृथ्वीको वातावरण बिग्रँदा यसमाथि कस्तो असर परेको छ भन्ने सङ्केत दिइसकेका छन् । नेपालमा लामो खडेरी पर्ने गर्दछ जसले गर्दा वन डढेलोका साथै बस्तीहरूमा हुने आगलागीले बर्सेनि लाखौँको धनजनको क्षति हुनका साथै कार्बन उत्सर्गनमा बढवा दिने गर्दछ । जनचेतनाको अभावमा वन अतिक्रमण र खोरिया फडानी गर्ने क्रम रोकिएको छैन । हाम्रा जमिन बाँझोमा परिणत हुँदैछन, हामी हरेक वस्तुमा परनिर्भरता तिर गइरहेका छौँ । यसले हामीलाई कुन दिशातिर लैजाँदै छ मनन गर्नु पर्ने सत्य यही हो । सत्य कुरा के हो भने राम्रो पारिस्थिकीय प्रणालीले मात्र मानव जीवन र यसको जीविकोपार्जनलाई बढवा गर्न सक्दछ, जलवायु परिवर्तनको असरबाट अनुकूलित हुने क्षमता वृद्धि गर्न सहयोग गर्दछ, अनि जैविक विविधता विनाश हुनबाट जोगाउँदछ । यस चुनौतीको सामना गर्न सबै सरोकारवालाहरूको ध्यान समयमै जान जरुरी देखिन्छ ।

हाम्रो उन्नति, प्रगति र हाम्रा सन्ततिहरूको उज्ज्वल भविष्यको लागि सीमित प्राकृतिक श्रोत साधनको अत्यधिक दोहन हुनबाट बचाउ गर्नु र यसको वातावरण संरक्षण गर्नु हामी मानव जातिको कर्तव्य र दायित्व हो, किनभने पृथ्वीको वातावरण बिगार्नमा यसमा बसोबास गर्ने सबैभन्दा बुद्धिमान भनिएको प्राणी मानिस नै जिम्मेवार छ । प्रत्येक राष्ट्रका सरकार, राजनीतिक दलहरू, नागरिक समाज तथा सङ्घ संस्थाहरूले जलवायु परिवर्तन र वातावरण संरक्षणको विषयलाई आफ्नो प्रतिबद्धता पत्रमा जल्दो बल्दो मुद्दाको रूपमा लिन जरुरी देखिन्छ । परम्परागत प्रविधिलाई नवप्रवर्तनका साथ विकाश गर्दै स्थानीय श्रोत साधनलाई दिगो सदुपयोग गरी स्वरोजगारका नयाँ अयामहरु खुल्न सक्दछन् र आफ्नो क्षेत्रको वातावरण संरक्षणमा उल्लेख्य योगदान पुग्न सक्नेछ । विश्वको लागि सोचौँ, जहाँ छौँ त्यहीबाट वातावरण संरक्षणका काम सुरु गरौँ यसैमा हाम्रो व्यक्तिगत जीवन सफल हुनेछ र यस पृथ्वीमा रहेका सबै प्राणीको पनि भलो हुनेछ, अनि मात्र विश्व मरुभूमीकरण तथा खडेरी विरुद्धको दिवस मनाएको सार्थक पनि हुनेछ । आजको दिनले हामी सबैलाई सतर्क भएर अघि बढ्न अभिप्रेरित गरोस् ।

लेखक मथुरा खनाल लुम्बिनी प्रदेश विकास परिषद सदस्य हुनुहुन्छ ।

प्रतिक्रिया