अनेरास्ववियुका चौधरी र आचार्यको जन्मोत्सवमा क्याम्पस कमिटीद्धारा वृक्षरोपण

हरि आचार्य, कपिलवस्तु
पछिल्लो समय जन्म दिनको अवसरमा विभिन्न होटल तथा रेष्टुरेण्टहरुमा फजुल खर्च गर्ने प्रवृति बढिरहेको पाईन्छ । पश्चिमेली संस्कृति अनुसरण गरि जन्म दिनमा केक काट्ने साथीभाईहरुलाई डाक्ने अनि नाँचगान गरी रमाईलो गर्ने प्रचलन पनि नभएको होईन । सोहि क्रममा जन्म दिनमा केक काट्ने, रमाईलो गर्ने जस्ता प्रवृत्तिलाई अन्त्य गर्नका लागि अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटीले उदाहरणिय कार्य गरेको छ । अनेरास्ववियु जिल्ला कमिटी सदस्य दिनेश चौधरी र स्ववियु सिद्धार्थ क्याम्पस सदस्य अर्चना आचार्यको जन्मोत्सव स्ववियु सिद्धार्थ क्याम्पस कमिटीले वृक्षरोपण गरि मनाएको क्याम्पस कमिटी अध्यक्ष मधुसुदन भुसालले जानकारी दिनुभयो । आज विश्व वातावरण दिवस, ’प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ देशभर मनाईरहदा क्याम्पस कमिटीले पनि जन्म दिनको अवसर पारि वृक्षरोपण गरेको हो ।

क्याम्पसको सेरोफेरोमा वातावरणिय सन्तुलन कायम राख्नका लागि विभिन्न जडीबुटीसंगै महत्वपुर्ण विरुवा रोपिएको जन्म दिन पर्ने दिनेश चौधरी र अर्चना आचार्यले बताए । त्यस्तै जन्मोत्सवको अवसरमा वातावरणीय सन्तुलनसंगै सामाजिक रुपान्तरणको काम गर्नका लागि प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो कार्य गरिएको बताए ।

वृक्षरोपण कार्यक्रमका प्रमुख अतिथि अनेरास्ववियु जिल्ला अध्यक्ष अन्जित खनालले जन्मोत्सवको अवसरमा दुवैलाई शुभकामना व्यक्त गर्दै सामाजिक कार्य गरेकोमा क्याम्पस कमिटीलाई धन्यवाद दिनुभयो । उहाँले विश्व वातावरण दिवसको अवसरमा गरिएको वृक्षरोपण कार्य निकै प्रशंसनीय कार्य रहेको भन्दै अनेरास्ववियुले उत्कृष्ट कार्य गर्दै जन्मोत्सव मनाउदै आएको बताउनुभयो ।

अनेरास्ववियु सिद्धार्थ क्याम्पस कमिटी अध्यक्ष मधुसुदन भुसालले क्याम्पस कमिटीले विगतमा पनि विभिन्न सामाजिक र उत्कृष्ट गर्दै आएको र आगामी दिनका पनि निरन्तरता दिने बताउनुभयो । उहाँले विद्यार्थीहरुको हक हितका लागि कमिटी सदैव तत्पर रहेको बताउनुभयो । अध्यक्ष भुसालले विरुवा रोपेर मात्र हुँदैन, हुर्काउनु पनि आवश्यक रहेको बताउदै प्रत्येक व्यक्तिले आफनो जन्मदिनमा ५ रूख रोपेर हुर्कायौं भने प्रत्यक वर्ष १५ करोड रूख रोप्न सकिने बताउनुभयो । उहाँले वातावरण संरक्षण अभियान अन्तर्गत वातावरणको दिगो सन्तुलनका लागि वृक्षरोपण कार्यक्रम आयोजना गरेको बताउदै कार्यक्रममा सहभागी हुने सम्पुर्णलाई धन्यवाद व्यक्त गर्दै वातावरण संरक्षण अभियानलाई थप उर्जा प्रदान गरिदिनु हुन अनुरोध पनि गर्नुभएको छ ।

वृक्षरोपण कार्यक्रममा क्याम्पसका प्राध्यापक, स्ववियु सभापति निल कमल थारु, सचिव पशुपति गिरी, कोषाध्यक्ष मनोज न्यौपाने, सह–सचिव अमृता खनाल लगायत स्ववियु पदाधिकारी तथा सदस्यहरु, अनेरास्ववियु क्याम्पस कमिटी पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया