रायमाझीले डुबाए आफ्नै डुंगा

काठमाडौँ

पूर्वउपप्रधानमन्त्री, प्रमुख प्रतिपक्षी एमालेका सचिव र प्रतिनिधिसभाका सांसद । यति धेरै ओहोदा बोकेर फरार टोपबहादुर रायमाझी कतिञ्जेल लुक्ने ? प्रहरी अधिकारी भन्छन्– अब उनी टाढा छैनन् । प्रहरीले दक्षिण क्षेत्रमा विशेष खोजबिन गरेको छ ।

नक्कली शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि वैशाख २० देखि उनी फरार छन् । बुटवलबाट सम्पर्कविहीन भएका उनलाई खोज्न प्रहरी संयन्त्र सक्रिय छ । प्रधान कार्यालय स्रोतका अनुसार उनलाई कानुनको दायरामा ल्याउन अब धेरै बाँकी छैन ।

फरार भएर रायमाझीले प्रहरीलाई एउटा पाठ सिकाए, नियति दोहोरिनसक्ने आशंकामा प्रहरीले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई पक्राउ गरेपछि मात्र अदालतलाई जानकारी गरायो । त्यसपछि दबाबमा परेको प्रहरी रायमाझीको खोजीमा थप सक्रिय भएको हो ।

माओवादीमा पुष्पकमल दाहाल र बाबुराम भट्टराईबीच विवाद हुँदा रायमाझी भन्ने गर्थे, ‘जति विवाद भए पनि खोला तार्ने माझी मै हुँ ।’ २०६१/६२ तिर दाहाल र भट्टराईबीच विवाद उत्कर्षमा पुग्दा उनले मध्यस्थता पनि गरेका थिए । माओवादीमा रहँदा उनी जहिले पनि भट्टराईको पक्षमा लागे तर मनमा लागेको कुरा ड्याङ्ग बोल्ने भएकाले दाहालले पनि उनलाई रुचाउँथे । दाहाल र भट्टराईको बोलचाल बन्द भएका बेला उनी रमाइलो गरेर दुवै नेतालाई मिलाउने गर्थे ।

दाहाल र रामबहादुर थापाबीच द्वन्द्व हुँदा पनि रायमाझीले नै मध्यस्थता गरी मिलाएका थिए । ‘यी दुई नेताको मैले नाडी छामेको छु, त्यसैले मैले भनेको मान्छन्,’ माओवादी अन्तरसंघर्षका बेला उनी सञ्चारकर्मीसँग भन्थे । विडम्बना नै भन्नुपर्छ, दाहाल, भट्टराई र थापाको नाडी छामेको दाबी गर्ने उनी आफ्नै नाडी छाम्न भने चुकेका छन् । जनतालाई समृद्ध बनाउने भनेर १० वर्ष द्वन्द्वमा होमिएका उनी जनतालाई शरणार्थी बनाएर बेच्ने प्रपञ्चमा लागेको अपराधमा मुछिएका छन् । राजनीतिक डुंगा तार्ने रायमाझीको आफ्नै डुंगा डुबेको छ ।

अखिल छैटौंबाट राजनीति सुरु गरेका उनको राजनीतिक यात्रा सांसद, माओवादी संसदीय दलको उपनेता, पाँचपटक मन्त्री, उपप्रधानमन्त्री र एमालेको सचिव हुँदै उकालो चढिरहेको थियो । २०४८ मा संयुक्त जनमोर्चाका तर्फबाट अर्घाखाँची–१ बाट उम्मेदवार बनेका रायमाझी २०५२ सालमा माओवादी युद्धमा लागेका थिए । २०५४ मा पार्टीको पोलिटब्यरो सदस्य भए । माओवादीमा रहँदा उनी भारतीय प्रवास कमिटीको दुई पटक इन्चार्ज, स्थायी कमिटी सदस्य र सचिव पनि भएका थिए । माओवादी सशस्त्र युद्ध उत्कर्षमा पुगेका बेला २०६१/६२ मा पश्चिम कमान्ड इन्चार्ज भए । उनको निर्देशनमा सन्धिखर्क, बेनीलगायत स्थानमा आक्रमण भएका थिए ।

माओवादी छाडेर एमाले प्रवेश गरेपछि पार्टीको केन्द्रीय सचिवको रुपमा उनले राम्रै ओहोदा पाएका थिए । अर्घाखाँचीबाट लगातार चारपटक निर्वाचित भएर उनले लोकप्रिय नेताको छवि बनाएका थिए । तर नक्कली शरणार्थी प्रकरणमा उनी मुछिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सुरुमा प्रतिरक्षा गरे ।

पार्टीभित्र दबाब र बाहिर चर्को आलोचनापछि बुधबार बल्ल सचिव पदबाट निलम्बन गरे । पार्टीको जिम्मेवारीबाट निलम्बन एउटा प्राविधिक पक्ष मात्रै हो तर देशको कानुन र जनताको विश्वासमाथि उनले गरेको घात कुनै पनि कोणबाट क्षम्य छैन । उनले आफ्नो राजनीतिक डुंगा डुबाए पनि अरु धेरै राजनीतिकर्मीलाई इमान नछाड्न पाठ सिकाएका छन् ।

-कान्तिपुरबाट

प्रतिक्रिया